विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा घाइते भएका हेमकुमार दाहालको मृत्यु भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४९ वर्षीय दाहालको उपचारको क्रममा बुधवार राति मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
अस्पतालको आईसीयू कक्षमा उपचाररत दाहालको राति ११ बजे मृत्यु भएको हो । उनको अनुहार घाँटी, छाती, दुवै हात र दुवै खुट्टामा गरी प्रायः शरीर पनि जलेको थियो ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी–७ का दीपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
२३ जना घाइतेहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आईसीयू कक्षमा ७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि उपचारकै क्रममा तपन पण्डितको मृत्यु भएको थियो ।

