‘विराट’ को साख जोगाउने कि मेयरज्यू !

  पुण्य पि अधिकारी

कोशी प्रदेशको एक मात्र विराटनगर महानगरपालिकाको चर्चा अनेक हिसाबले हुन्छ । महानगरपालिकाको मात्र हैन, मेयर नागेश कोइरालाको चर्चा पनि बेलाबेला उत्तिकै हुने गरेको छ । पछिल्लो समय मेयर कोइरालाको चर्चा भन्दा पनि मेयर कोइरालाको खोजी महानगरवासीले थालेका छन् । विराटनगर महानगरपालिकाभित्र मेयर कोइराला छन् कि छैनन् भन्ने चर्चा हुन थालेको छ ।

अध्ययन, अवलोकन र ज्ञानका लागि नेपाल भन्दा बाहिर अलि लामो समय मेयर अल्मलिएपछि महानगरवासीमा त्यस किसिमको कौतुहलता हुनु स्वभाविक नै हो । केही समय अघिमात्र आफूलाई सुशासनको अभियान्ता भन्न रूचाउनेका कारण मेयर कोइरालाको चर्चा उग्र थियो ।
‘विराट’ आफँैमा निक्कै गहिरो र शाब्दिक अर्थ लाग्ने शब्द हो । विराटनगर महानगरपालिकाका मेयरसँग पनि त्यस्तै ‘विराट’ भिजन, मिशन र गोल हुनुपर्छ भन्ने नगरवासीको मान्यता हो । तर पछिल्लो समय मेयरको क्रियाशिलता र सक्रियता आम नगरवासीलाई नुन विनाको तरकारी जस्तो लाग्न थालेको छ ।

वि.स.२०६६ सालदेखि बालमैत्री नगर घोषणाका लागि योजना तय गरी वि.स.२०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा विराटनगरमा ३३ जना बालबालिकामा केही समयअघि मात्र कुपोषणको समस्या पाइएको छ । तत्कालीन समयमा वैजनाथपुर गाविस रहेको र हाल विराटनगर महानगरपालिका–१९ रहेको क्षेत्रका बालबालिकामा अहिलेको समयमा कुपोषणको समस्या पाइनु निक्कै चिन्ताको विषय हो । संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या एवम् व्यवस्था गरेपछि नगरवासीको उचित स्वास्थ्य अधिकारको सम्बोधनका लागि मेयरको क्रियाशीलता निक्कै आवश्यक हुन्छ ।

पछिल्ला दिनमा मेयर कोइरालाले मिशन, भिजन र गोलविना सस्तोलोकप्रियताका लागि गरेका केही निर्णयहरूले नगरवासीलाई निराश तुल्याइरहेका बेला अब पनि मेयर कोइराला विकासका काममा नतात्ने हो भने नगरवासीले जनमतको सम्मान वा अनादर भन्ने खुट्याउन बेला पक्कै आउने छ ।

मेयर कोइरालाले आवश्यक तयारी बिना नगर बस सञ्चालन, लहडका भरमा जोगवनी नाकामा कडाइ, सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ वेचविखन तथा सेवनमा रोक, बजार क्षेत्रमा पार्किङ्ग निषेधजस्ता योजना ल्याएर खुब चर्चा कमाएका थिए । नगर बस सञ्चालनको विषयलाई धेरै सञ्चारमाध्यमले उच्च प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरे । जुन हिसाबले मेयर कोइरालाले नगर बसको हल्ला फैलाएका थिए, कार्यान्वयनमा भने शून्य नै रह्यो ।

प्रदेश राजधानी भएका कारण विराटनगरमा सार्वजनिक यातायात, स्वच्छ खानेपानी, उचित र उपयुक्त सार्वजनिक शौचालयलगायत शहर हुनका लागि चाहिने न्यूनतम आधार भौतिक संरचनाको विकास हुन सकेको छैन । भीडभाडयुक्त ठाउँमा फ्लाइओभरहरुको निर्माण हुन सकेको छैन ।

केही समय अघिमात्र विराटनगर महानगरपालिका एसिया प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरुको सञ्जाल, सिटिनेट राष्ट्रिय कार्यसमितिको अध्यक्षमा चार वर्षका लागि छनौट भएको छ । यो अवसरमा महानगरपालिकाले विराटनगरलाई व्यवस्थित शहरका रुपमा अघि बढाउन सक्नेछ । तर त्यसका लागि मेयर कोइरालाको सक्रियताको खाँचो निक्कै छ । अन्यथा विकासलाई प्राथमिकतामा नराख्ने तर लोकप्रियताका लागि आवश्यक तयारी विना अनेक निर्णय गर्ने हतारोले मेयर कोइरालालाई ‘विराट’ साख जोगाउन निक्कै मुस्किल पर्नेछ ।

बिहिबार, ०७ मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर