काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका महिलाहरूलाई मंगलबार राति दुब्र्यवहार गर्ने समूह नेकपा एमालेको भातृ संगठन युवा संघकै कार्यकर्ता भएको पाइएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिकास्थित इन्द्रसान बैंक्वेटमा बसेका महिलाहरुलाई युवा संघको टोलीले ‘हामी पनि प्रसाई अभियानको कार्यक्रममा आएका हौं’ भन्दै ढोका खोल्न लगाएर बाहिर निकालेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा युवाहरूको समूह सुतिरहेका महिलाहरू भएको ठाउँमा पुग्छन्। भिडिओको सुरुमा सुनिन्छ– ‘दुर्गे प्रसाईं…लाई फोन गर्नुस् त युवाहरूले लग्यो भनेर। गइहाल्नु गइहाल्नु लो।’
त्यसपछि अर्का युवा बोल्छन्– गइहाल्नु, गइहाल्नु ल। हँ हलो दिदीहरू, ७ गतेको कार्यक्रममा आउनु भएको होइन त ? एक जना महिला ओछ्यानबाट उठेर लुगा लगाउँदै गरेको देखिन्छ । उनी भन्छिन्– ‘हामी जान्छौं हौ, जान्छौं। लुगा लगाउन त दिनुन हामीलाई ।’
ती युवा फेरि सोध्छन्– ‘तपाईंहरू ७ गतेको कार्यक्रममा आउनु भएको होइन त।’ अर्का युवाले लुगा लगाउन दिउँ न भन्छन् । तर, युवा संघको टोलीले छिटो गर्नु भन्दै महिलाहरुलाई थर्काइरहन्छ ।
महिलाहरू लुगा लगाउन दिनु भनेर विन्ती गर्छन् । तर, युवा संघको टोलीले भने छिटो कि छिटो भनेर थर्काइरहन्छ । त्यहाँ १० मिनेटको समय दिएका छौं भनेको सुनिन्छ । त्यसपछि महिलाहरु बाहिर निस्किएर सडक किनारमा हिँडेको देखिन्छ ।
महिलाहरूलाई दुव्यर्वहार गर्दै युवाहरूले बाहिर निकालिरहेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गर्दा सो समूह युवा संघको टोली भएको पहिचान भइसकेको प्रहरीको भनाइ छ । घटनाबारे भक्तपुर परिसरले थप अनुसन्धान गरिरहेको छ ।
नजिकका सीसीटिभी फुटेजहरु संकलन गरेर मान्छे केहि मान्छे पहिचान भइसकेको र अन्यको पनि पहिचान गरिरहेको भक्तपुर प्रहरी प्रमुख एसपी वेद विष्टले जानकारी दिए । युवा संघको टोलीले उठाएर बैंक्वेटबाट निकालेका महिलाहरू प्रहरीको सहयोगमा राति ३ बजेतिर काठमाडौंको गौशला पुगेर बास बसेका थिए ।
यसअघि युवा संघको टोलीले दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो पनि दलेको थियो । युवा संघ र प्रसाईं नेतृत्वको अभियानले भोलि मंसिर ७ गते काठमाडौं एकसाथ कार्यक्रम आयोजना गरेका छन् ।
उनीहरूको कार्यक्रमका कारण हिंसात्मक गतिविधि बढ्न सक्ने भन्दै काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता बढाइएको छ ।
प्रसाईका समर्थकलाई खेद्न युवा संघका सचिवालय सदस्य विनोद राई नेतृत्वको टोली पार्टी प्यालेस पुगेको खुलेको छ । राईलाई कसले पार्टी प्यालेस पठायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवा संघले भने विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेको बद्नाम गर्न सो प्रकरणमा युवासंघ जोडिएको जिकिर गरेका छन् । भिडियोलाई लिएर एमाले र युवा संघको चौतर्फी विरोध भएको छ ।