नेपाल आउने भारतीयको आइडी जाँच गर्न आग्रह

विराटनगर । सामाजिक शान्ति र विश्वासिलो सुरक्षा व्यवस्था कायम गर्न नेपाल प्रवेश गर्ने भारतीयहरुको परिचय पत्र जाँच गर्ने व्यवस्था लागु गर्न प्रदेश सभा सदस्य सदानन्द मण्डलले माग गरेका छन । प्रदेश सभाको शून्य समयमा मंगलबार बोल्दै सांसद मण्डलले सूचना प्रणाली व्यवस्थित नगर्दा नेपालमा सुरक्षा चुनौती बढ्दै गएकोले नेपाल प्रवेश गर्ने भारतीयहरुको आइडी जाँच गरी विवरण राख्नु पर्ने बताएका हुन् ।

‘भारतसँग हाम्रो सामाजिक सम्बन्ध र मित्रता छ । भारतीयहरु नेपाल आउँदा उनीहरुको आइडी जाँच गर्न मिल्छ कि मिल्दैन ? हाम्रोमा सुरक्षा चुनौती बढेको छ । त्यस्तो अवस्थामा आइडी चेक गर्ने व्यवस्था गर्न आवश्यक छ । मेरो अनुरोध छ कि त्यसरी आउनेहरुको आइडी जाँच गर्ने व्यवस्था गरियोस्,’ सांसद मण्डलले भने ।

सांसद मण्डलले भारतबाट कतिपय गाडीहरु भन्सार नकाटी नेपाल आउने गरेको र राजमार्गहरुमा सशक्त जाँच चौकी नहुँदा अपराध गरेर फर्किदा पनि पहिचान गर्न समस्या हुने गरेको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले राजमार्गमा सवारी जाँच चौकी र नेपाल प्रवेश गर्ने नाकामा आइडी जाँच गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

पर्यटकीय क्षेत्रमा पहुँचमार्गको माग

मंगलबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद गोविन्द गिरीले इलामका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुमा पहुँचमार्ग निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरे । सन्दकपुर, झ्याउँपोखरीलगायत आधा दर्जनबढी नयाँ र आकर्षक गन्तव्यहरुमा पहुँच मार्ग नभएको भन्दै उनले कमसेकम व्यवस्थित पदमार्ग भएपनि निर्माण गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरे । कोशी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य इलाममा अझ धेरै नयाँ ठाउँहरु सडक सुविधाको अभावका कारण ओझेलमा रहेकोमा उनले चिन्ता व्यक्त गरे । इलामको कन्याम, श्रीअन्तु पुगेर धेरै मानिस फर्कने गरेको भन्दै उनले अन्य गन्तव्यमा पुग्न सडक पूर्वाधारमा प्रदेश सरकारले ध्यान दिएमा इलामका आधा दर्जन बढी नयाँ गन्तव्यमा पर्यटन गतिविधि बढ्ने दाबी गरे ।

दीर्घ बिरामी सहयोग अवरुद्ध भएको चिन्ता

शून्य समयमा बोलेका सांसद गोपालबहादुर विश्वकर्माले प्रदेश सरकारले गम्भीर प्रकारको दीर्घ बिरामीहरुका लागि सहयोग गर्ने कार्यक्रम केही समययता कार्यान्यन नभइरहेको भन्दै तत्काल सुचारु गराउन माग गरेका छन् । मुटु, मिर्गौला लगायत दीर्घ बिरामीको उपचारमा प्रदेश सरकारले १ लाख रुपैयाँ सहयोग गर्ने गरेको र त्यसबाट केहीले लाभ पाएको भएपनि पछिल्लो समय धेरैले उक्त रकम पाउन नसकेको उनले बताए । स्वास्थ्य मन्त्री नियुक्त नहुँदा उक्त सुविधा सर्वसाधारणले पाउन नसकेको जानकारी आएको भन्दै उनले छिटो स्वास्थ्य मन्त्री नियुक्त गरी उपचारमा रहेका दीर्घ बिरामीहरुको उपचारमा सहयोग गर्न आग्रह गरे ।उनले अहिले पनि जनताले सुलभ ढंगले साधारण उपचार समेत पाउन नसकेको गुनासो आइरहेकोले त्यस्तो गुनासो सम्बोधन गर्नका लागि सांसदहरुको समितिलाई सक्रिय बनाउन आग्रह गरे ।

प्रदेशको अधिकार कार्यान्वयन गर्न जोड

प्रदेश सभा सदस्य यशोदा कायस्थले नेपालको संविधानको धारा २६९(२) प्रत्येक प्रदेशमा प्रदेश प्रहरी रहने व्यवस्था कार्यान्वयन गर्न जोड दिएकी छन् । शून्य समयमा बोल्दै उनले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन जारी भए पनि कार्यान्वयन नभएको अवस्था अन्त्य गर्न माग गरिन् ।

उनले भनिन्, ‘स्थानीय तहको एकल अधिकार अन्तरगत आधारभूत तथा माध्यामिक तहको शिक्षा रहने व्यवस्था छ । संघीय कानुन निर्माण हुन नसक्दा कानुनी रुपमा शिक्षकहरुको सरुवा, बढुवा, दरबन्दी मिलान र शिक्षा सम्बन्धी नीति कार्यान्वयन हुन सकेको छैन । जनताले यो अधिकार उपभोग गर्न पाएका छैनन् । माध्यामिक तहको शिक्षा संघीय सरकारले हडप्न खोजिरहेको छ । शिक्षा सम्बन्धी अधिकार पूर्णरुपमा स्थानीय तहलाई दिनुपर्छ । घरघरमा सिंहदरबार भन्ने तर व्यवहारमा स्थानीय तहलाई अविश्वास गरेर, अधिकार नदिएर अपाङ्ग बनाउन खोजिरहेको देखिन्छ । नेपालको शिक्षा सेवा प्रयोगशाला बनाउन खोजिएको छ । यसले यहाँको जनशक्ति पलायन गराउने निश्चित छ र यहाँ दक्ष जनशक्तिको अभाव हुने देखिन्छ । सरकार राष्ट्र र जनतालाई कसरी अगाडि बढाउने भन्दापनि कति शक्तिलाई उपयोग गर्ने भन्नेमै अलमलिएको छ ।

बुधबार, ०६ मंसिर, २०८०, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर