दुध समस्याको समाधान

 सम्पादकीय

कोशी प्रदेशमा मागभन्दा धेरै दुध उत्पादन भएर मिल्क होलिडेको अवस्था छ । पछिल्लो वैशाखयता तराईमा अत्याधिक दुध उत्पादन भएको कारण खपत हुन नसकेको दुध उद्योगहरुले पाउडर बनाएका छन् । तर, पाउडर तथा घिउ बिक्री नहुँदा लाखौं किलो स्टकमा छ । जुन ६ महिनाभित्र उपभोग नभएरमा फाल्नुपर्ने बाध्यता हुन्छ । एकातिर दुधको उत्पादन बढाउन प्रदेश सरकारले किसानलाई प्रतिकेजी २ रुपैयाँ अनुदान दिने कार्यक्रम लागू गरेको छ, अर्कोतिर उत्पादित दुध बिक्री नहुँदा किसान र व्यवसायी तनाबमा छन् । दुधको बजार खोजी गर्ने प्रयास भएपनि सफलता प्राप्त हुन सकेको छैन । त्यसमाथि सीमाक्षेत्रमा भारतबाट आयात हुने दुधको कारण पनि नेपाली उत्पादनको खपतलाई समस्या पारेको छ । यसमा व्यवसायी र सरकार दुबै जिम्मेवार छन् ।

गत चैत–वैशाखमा व्यवासायीको दबाबमा सरकारले दुध र दुधजन्य पदार्थको मूल्यबृद्धि गर्यो । दुधमा प्रतिलिटर १० रुपैयाँ मूल्यबृद्धि गर्दा सामान्य उपभोक्ता प्रभावित बने । मूल्यबृद्धिको निर्णय कति हचुवाको भरमा गरिएको थियो भन्ने कुरा अहिले पुष्टि भएको छ । दुधको उत्पादन कम हुने र लागत बढ्ने भन्दै मूल्यबृद्धि गरिएको ६ महिनाभित्रै कोशीका दुध व्यवसायीले बृद्धि भएको मूल्य आफैं घटनाउने अवस्थामा पुगेका छन् । अहिले निजी दुग्ध व्यवसायी मात्र नभएर सरकारी स्वामित्वको दुग्ध विकास संस्थान पनि तनाबमा छ । उसँग पनि बटर र पाउडरको ठूलो स्टक छ । अर्कोतिर संस्थानलगायत विभिन्न उद्योगले किसानलाई दूध किनेबापत ठूलो रकम भुक्तानी गर्न पनि बाँकी रहेको देखिन्छ ।

उद्योगीहरुले पनि नाफामा मात्र केन्द्रित हुनु पनि अहिलेको समस्या हो । भण्डारण गरिएको दुग्धजन्य पदार्थ उचित समयमा बिक्री गर्ने काम उनीहरुले गरेका छैनन् । मूल्य बढाउने उनीहरुको ध्याउन्नले पनि समस्या बनेको हो । किनकि दूध बिक्री नहुनुको पछाडि उपभोक्ताको क्रयशक्ति पनि कारण हो । अर्कोतिर दुधजन्य पदार्थको निर्यात हुन सकेको छैन । भारतमा उत्पादिन अमुलको उत्पादनले विश्वबजार लिएको अवस्थामा त्यसअनुरुप नेपाली उत्पादनको स्तरिकरण गरेर बजारीकरण गर्दै निर्यातको संभावना खोजी गर्न सरकार र निजी क्षेत्र लाग्नुपर्छ । विदेशी बजार खोज्ने यो समस्या समाधानको एउटा गतिलो र दीर्घकालीन उपाय हुन सक्छ । अर्कोतिर दुधबाट लामो समय टिकाउ हुने छुर्पीजस्ता उत्पादनमा ध्यान दिनसके अहिलेको समस्या समाधान हुनसक्छ । किनकि नेपालको छुर्पी पहिलेदेखि नै युरोपदेखि अमेरिकासम्म निर्यात भइरहेको छ ।

नेपाली उपभोक्तालाई दुग्धजन्य पदार्थको फाइदाबारे सचेतना फैलाउन सक्नुपर्छ । मानव स्वास्थ्यका लागि अति आवश्यक चिल्लो पदार्थ, ल्याक्टोजिन, प्रोटिन, कार्बोहाइड्रेट, खनिज पदार्थ र भिटामिन दूधमा पाइन्छ । यो आम उपभोक्तालाई बुझाउन सकेमा खपत बढ्नसक्छ । विदेशी उत्पादान प्रयोग गर्ने नेपाली सेनासहितका संगठित निकायमा नेपालकै दुध र दुधजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्छ । सरकारले बालिबालिकाहरुको लागि सञ्चालन गरेको विद्यालय खाजा कार्यक्रममा दुधलाई पनि समावेश गर्नसके धेरै राम्रो हुन्छ । किनकि बालबालिकाको लागि दुध झनै फाइदाजनक र अत्यावश्यक छ ।

बुधबार, ०६ मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर