विराटनगर । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने पर्वको चौथो दिन आज जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ सम्पन्न भएको हो ।

‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ ।

पर्व सकिएसँगै घरघरै प्रसाद खाने खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली छोरी, दिदीबहिनी, फूपू , मितरमितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

केही दशकअघि मिथिला क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ ।