काठमाडौँ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध ५ वटा रिट सर्वोच्च अदालतमा पुगेको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीको सहित ५ वटा रिट सर्वोच्चमा रिट पुगेको हो । रिट दर्ता भने भइसकेको छैन ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन–कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने उनले बताए ।

टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग रिटमा गरिएको छ ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै सरकारले तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।