विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी घाइते भएका २८ जनामध्ये केहीको अवस्था गम्भीर देखिएको छ ।
प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले दिएको विवरण अनुसार घाइतेहरुमध्ये विराटनगरको आर्या न्युरो अस्पतालमा रिद्दीकिरण राई र कुमार तामाङको आइसियुमा राखेर उपचार भइरहेको छ । तामाङको अवस्था गम्भीर रहेको बताइएको छ । सोही अस्पतालमा सलिम मन्सुरी, दिलकुमार आचार्य, चुणामणि प्रधान रहेका छन् ।
उनीहरुमध्ये तीनलाई डिस्चार्ज गरिने र दुई जनालाई विराटगर अस्पतालमा लगिने बताइएको छ । यस्तै विराटनगर अस्पतालमा दिनेश शर्मा, शिवकुमार विक, दिपेन्द्र कार्की, सुमन चौधरी, रामेश्वर मरिचको, विशाल बस्नेत, कौशल गुरुङको उपचार भइरहेको छ । जसमध्ये चौधरीलाई विराटनगर बाहिर लानुपर्ने अवस्था रहेको बताइएको छ ।
विराटनगरको रेडप्लस अस्पतालमा नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बूको उपचार भइरहेको छ । उनीहरुमध्ये तारामणि लिम्बूको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई तत्कालै विरानगर अस्पताल लाने तयारी गरिउको छ ।
आगलागीमा परी प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान घाइते भएका छन् । अन्य २४ जना सर्वसाधरण घाइते भएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
केही घाइतेहरुको झापाको बीएमसी, दमकको लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ । स्थानीय दीपक कार्कीको घर रहेको सनु पसलमा आगो लागेपछि ग्यास सिलिण्डर विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यसबाट बाटोमा हिँडिरहेकाहरु समेत घाइते भएको दाहालले बताए । ‘घाइतेहरुमध्ये कसै–कसैको ५० प्रतिशतसम्म शरीर जलेको छ,’ दाहालले भने ।

