विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराधमा दोषी ठहर भई फरार भएका १३ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरेपछि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

फरार पक्राउ पर्ने अभियुक्तहरु वन, सार्वजनिक अपराध, गाली बेइजतीलगायतका मुद्दामा सजाय पाएकाहरु छन् । उनीहरु १३ जनालाई नै एकैदिन विभिन्न स्थानबाट पक्राउ गरेको उदयपुर प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

पक्राउ परेका अभियुक्त घटना गरेपछि लामो समयसम्म भागेर लुक्दै बसेका थिए । ती प्रतिवादीलाई इप्रका रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको उनले बताए । प्रहरीले वन मुद्दामा २ महिना २० दिन कैद र ४५ हजार ९६ रुपैयाँ जरिवाना तोकिएको उदयपुर बेलका नगरपालिका १ का गोविन्द ठाकुरलाई पक्राउ गरेको छ । यस्तै गरी वन मुद्दामै फरार बेलका नगरपालिका १ का महिन्द्र राई, चन्द्रबहादुर रोक्का कार्की, बुद्दिमान तामाङ, चन्द्र तामाङ, जय प्रकाश चौधरीलाई पक्राउ गरेको हो ।

यसैगरी गाली बेइज्जती मुद्दामा फरार रहेका सहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सार्वजनिक अपराध मुद्दामा फरार रहेका बेलका नगरपालिका ४ बस्ने ४५ वर्षे गोरे भन्ने पूर्णबहादुर तामाङ, घनश्याम चौधरी र गोबद्र्धन तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं,’ प्रहरी निरीक्षक ढकालले भने, ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जतिदिन लुकिछिपि बसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैन भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनीकरण गर्नका लागि सचेतना हुने आशा गरिएको छ,’ प्रहरी निरीक्षक ढकालले भने ।

जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हँुदै कानूनप्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागिपरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले बताए । ‘पीडक पक्षलाई कानूनबाट भाग्न वा बच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई उदयपुर प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ,’ एसपी थापाले भने ।