संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजना विधुत् गृह र प्रवेश मार्ग ७० दिनपछि खुलेको छ । पीडितहरुले आन्दोलनको कार्यक्रम फिर्ता गरेपछि उक्त मार्ग पूर्ववत सुचारु भएको हो ।
पीडितहरुले भदौ १६ गतेदेखि बन्द उक्त मार्ग गरेका थिए । अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा नपाएको भन्दै बन्द गरेको बाटो मुआब्दा लिदने दिने सहमति भएपछि बिहीबारबाट सुचारु भएको हो ।
अरुण प्रवेश मार्गको आन्दोलन ७० दिनपछि आन्दोलन फिर्ता लिएको केन्द्रीय संर्घष समिति संयोजक जनीकुमार राईले जानकारी दिए । पीडितले मुआब्जा दिन छुटेको ४५४ रोपनी जग्गाको मुआब्जा पाउने सहमतिथ भएपछि संघर्ष समितिले आन्दोलन फिर्ता गरेको हो । मुआब्जा पीडित संघर्ष समितिले बन्द सहितको आन्दोलन फिर्ता लिएको विज्ञप्ती मार्फत जनाएको छ ।
खाँदबारी नगरपालिका–४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका २, दिदिङ्ग सडक खण्डको (२४.५ किलोमिटर) छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका थिए । कात्तिक १७ गतेको ५६ औं मन्त्रिपरिषद् बैठकले छुट मुआब्जा बापतको ५३ करोड रुपैयाँ विकासकर्ता कम्पनी सतलज जलविधुत निगम (एसएपिडिसि) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो । सो रकम पछि नेपाल सरकारबाट सोधभर्ना हुने गरी एसएपिडिसिले सरकारलाई दिन लागेको हो । मुआब्जा बापतको रकम जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा हुने भएपछि प्रवेश मार्गका पीडितले आन्दोलन फिर्ता गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
लगानी बोर्डले सतलज जलविधुत निगमलाई लेखेको पत्रमा मुआब्जा वितरणको हकमा पछि लगानी बोर्डले निर्णय गर्ने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को गत १६ गते बसेको बैठकले १ महिनाभित्र अर्थात मंसिर १८ देखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय भएको र सो मितिमा मुआब्जा वितरण सुरु नगरिए पुन आन्दोलन सुरु गर्ने संघर्ष समितिले जनाएको छ । गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

