विराटनगर ।तिहार नजिकिँदै जाँदा नेपाली बजार भारतीय फूलले ढाकेको छ । सरकारले भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाए पनि विराटनगरका बजारमा भने भारतीय फूलको व्यापार फस्टाइरहेको छ । भारतीय सयपत्री फूलको व्यापार ९० प्रतिशत भइरहेको छ ।
नेपाली फूलको उत्पादनको प्रबर्धन गर्ने उदेश्यले विदेसी फूल आयातमा प्रतिबन्ध लगाइए पनि भारतीय फूलले बजार ओगट्ने गरेको हो । विराटनगर भन्सार कार्यालयबाट भने फूल आयात भएको तथ्याक देखिँदैन । भन्सारमा राजश्व तिरेर भारतबाट फूल नभित्रिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले बताए । ‘यहाँबाट फूल गएको छैन,’ विराटनगर भन्सारका दाहालले भने ‘अन्य कताबाट गयो भन्ने हामीलाई पनि थाहा छैन ।’
तिहारलाई लक्षित गर्दै नेपाली बजारमा सयपत्री फूलको व्यापार सुरु भइसकेको छ । विराटनगरको बजारमा रहेका फूलका पसलहरूमा पर्याय जसो भारतको कलकत्ताबाट ल्याएका फूलहरू व्यवसायीहरूले बेचिरहेका छन् । प्लास्टिकका फूलहरूले समेत बजार ढाकेको छ ।भन्सारबाट नभित्रिए पनि विराटनगरका पुष्प व्यवसायीहरूले भने भारतको कलकत्ताबाट ल्याएर बेच्ने गरेको बताए । कलकत्ताबाट आठ हजार सयपत्री फूलको माला ल्याएको विराटनगरको जय गुरु फूल डेकोरेसन पसलका संचालक अमल बेराले बताए । एउटा मालाको १२० रुपैयाँमा बेच्ने गरेको उनले बताए ।
नेपालमा उत्पादन हुने भन्दा भारतबाट ल्याएको फूल बढी टिकाउ हुने भएकोले व्यापारीहरु त्यसतर्फ आकर्षित भएको बताउने गरेका छन् । ‘भारतबाट ल्याउँदा मूल्य पनि सस्तो पर्छ,’ अमलले भने ‘फूल पनि छिटै ओइल्याउँदैन । नेपालमा उत्पादन गरेको छिटै बिग्रिहाल्छ ।’हप्तामा तीन पटक कलकत्ताबाट ल्याएर बेच्ने गरेको व्यापारीहरू बताउँछन् । मंगलबार, बिहीबार र शनिबार आफ्नो पसलमा भारतबाट फूल आउने गरेको विराटनगरकै राधाकृष्ण फ्लावर पसलका संचालक रुपेश साहले बताए । ‘मेरोमा हप्ताको तिन पटक फूल ल्याउँछु,’ साहले भने ‘नेपालमा माग अनुसारको पाइँदैन ।’
माहा दुर्गा फ्लावर एन्ड डेकोरेसन पसलका संचालक अभिजित मनिकले हप्ताको दुईदेखि तीन दिनभित्र तीन हजार थान फूलको माला बिक्री गर्ने गरेको बताए । भन्सारबाटै राजश्व तिरेर विराटनगरको गुद्रीमा फूल आउने गरेको र आफूले त्यहाँबाट लिने गरेको उनले बताए ।
बजारमा प्लास्टिकका फूलहरू पनि छ्याप्छ्याप्ती छ । सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भने पनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रूपमा बिक्री भइरहेको व्यापारीहरू नै बताउँछन् ।

