विराटनगर । कोशी प्रदेशसभामा पहिलो पटक ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ हुने भएको छ ।
प्रदेशसभा नियमावलीमा व्यवस्था भएपनि अहिलेसम्म कार्यान्वयन नभएको ‘मन्त्रीसँग प्रश्नोत्तर’ मुख्यमन्त्री केदार कार्कीले कार्यान्वयनमा ल्याउने भएका हुन् ।
मुख्यमन्त्री कार्कीको प्रस्ताव अनुसार बिहीबारको लागि प्रदेशसभाले ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ राखेको छ । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री कार्कीले नियुक्त भएको छोटो समय भएपनि प्रदेशसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्ने भन्दै प्रश्नोत्तर राखेका हुन् ।
मुख्यमन्त्रीसँग प्रश्न सोध्न चाहने प्रदेशसभा सदस्यलाई आजसम्मको समय दिइएको थियो । प्रदेशसभाका ८ जना सदस्यले मुख्यमन्त्रीको लागि प्रश्न दर्ता गरेका छन् । ‘तोकिएको समयभित्र ८ जना माननीयको प्रश्न दर्ता भएकोले ती प्रश्नको जवाफ तयारी गर्न मुख्यमन्त्रीलाई पठाइएको छ’ प्रदेशसभाका सचिव गोपाल पराजुलीले भने ।
मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले एक पटक पूरक प्रश्न पनि गर्न पाउनेबारे छलफल भएको सचिव पराजुलीले जानकारी दिए ।