विराटनगर । विराटनगरस्थित सामाजिक तथा नीतिगत अध्ययन संस्था नर्थ साउथ कलेक्टिभ्सले फिल्म साउथ एसियासँगको सहकार्यमा फिल्म महोत्सव आयोजना गर्दैछ ।

ट्राभलिङ फिल्म साउथ एसिया विराटनगर नामको सो महोत्सव कार्तिक २३ देखि २५ सम्म हुनेछ । तीन दिनको महोत्वसमा फिल्म साउथ एसियामा उत्कृष्ट ठहरिएकामध्ये दशओटा चलचित्र प्रदर्शन गरिने छ ।यी चलचित्रहरु नेपाल, भारत, पाकिस्तान र म्यानमारका हुन । अंग्रेजी सबटाइटलमा हेर्न मिल्नेयी फिल्महरुमा नेपाली, हिन्दी, उर्दू, मनपुरी, पंजाबी र बर्मेली आदि भाषाको प्रयोग छ । भेटेरिनरी रोड, विराटनगर १३ मा स्थित नर्थ साउथ कलेक्टिभ्सले प्रत्येक दिन आफ्नो प्राङ्गणमा यी चलचित्र प्रदर्शन गर्ने छ ।

यी फिल्महरुले दक्षिण एसियाका सामाजिक विविधता, राजनीतिक जटिलता, आर्थिक कठिनाइ र सांस्कृतिक वैभवलाई सटिक तवरमा समेटेका छन् । दक्षिण एसियाली मनोभावका बहुआयामिक पक्ष बुझ्न यी फिल्महरु महत्वपूर्ण साबित हुने छन्। पहिलो दिन ४ः३० बजे प्रारम्भ गर्दै तीनओटा फिल्म देखाइने छ । दोस्रो दिन पनि ४ः३० मा शुरु गरेर तीनओटा फिल्म प्रदर्शन गरिने छ । तेस्रो तथा अन्तिम दिन ३ः१५ मा थाल्दै चारओटा फिल्म देखाइने छ ।

प्रत्येक दिन एउटा नेपाली भाषाको चलचित्र प्रदर्शन गरिने छ । नेपाली फिल्ममध्येदुइटा चलचित्रका निर्देशक पनि महोत्सवमा सहभागी हुने छन् । पहिलो दिन गाइने शीर्षकको नेपाली फिल्म हेरेपछि निर्देशक प्रदीप ढकालसँग चलचित्रका विविध पक्ष र उनका अनुभवबारे प्रश्न उत्तरको सत्र राखिएको छ । त्यस्तै अन्तिम दिन गोर्खा गर्ल शीर्षकको फिल्म सकिएपछि निर्देशक विशाल रोका मगरसँग खुला छलफल हुने छ । महोत्सवको सन्दर्भमा दक्षिण एसियाकोचिन्तनलाई गतिशील बनाउन विशेष सार्वजनिक विमर्शको आयोजना समेत गरिएको छ ।

त्यसैले ट्राभलिङ फिल्म साउथ एसिया विराटनगरको दोस्रो दिन लेखक÷पत्रकार कनकमणि दीक्षितले नेपाली संघीयताको दक्षिण एसियाली सम्भावना ः कोशी प्रदेशको सन्दर्भ शीर्षकमा विचार प्रस्तुत गर्नुहुने छ । सो कार्यक्रम ३ बजे प्रारम्भ हुनेछ । आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ भन्छन्, ‘चाडपर्वको याममा ट्राभलिङ फिल्म साउथ एसिया विराटनगर आयोजना गर्दै नगरवासीलाई दक्षिण एसियाको विविध अनुभवसँग जोड्न पाउनुदूर्लभ अवसर त हो नै साथै हालको समयलाई थप उत्सवमय बनाउनुहो ।’