काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपर्ने बताएका छन ।
जाडोमा भुइँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको उनले बताएका छन । यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकिएको गृहमन्त्री श्रेष्ठले बताएका छन । भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारका तर्फबाट भूकम्प प्रभावितका लागि उपलब्ध गराइएको सामग्री बुझेपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् ।
विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई सङ्कलन गरी तीन वटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने उनले बताए ।
भूकम्पलगत्तै प्रभावित दुवै जिल्लामा सरकारले पाँच पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको उनले जानकारी दिए ।