विराटनगर । १९ बर्सिया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई अदालतले कैद सजाय निर्धारण गरेको छ ।मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीलाई बुधवार ८ वर्ष कैद र जनही ३÷३ लाख रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको हो ।
जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । यसअघि बिहीबारको इजालशले उनीहरूको कसुर ठहर भएको थियो । मुलुकी फौजदारी मुद्दामा कसुर ठहर भएपछि सजाय निर्धारण गरी फैसला हुने गर्दछ ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरूले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।
पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेख । अन्तिम पटक भने गत असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।
युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । जबरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका थिए । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागारमा रहेका छन् ।

