विराटनगर । झापाको मेचीनगर नगरपालिका धुलाबारीकी ममता ढुंगानाको जन्मदै मुखभित्रको तालु फोटेको थियो । जसले गर्दा उनको बोली स्पष्ट थिएन । दुई वर्षको उमेरमा उनको फाटेको तालुको शल्यक्रिया गरेर जोडियो । विराटनगरस्थित हाम्रो अस्पतालमा उनको उपचार भएको थियो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम लिइन् । फेक्ट नेपालको स्पिच थेरापिस्ट तथा विशेषज्ञ टिमबाट नियमित बोलीको तालिम लिएपछि अहिले ममता प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएकी छन् ।
छोरी प्रष्टसँग बोल्न सक्ने भएपछि ममताको परिवारमा पनि खुसी छाएको छ । ‘छोरीले यति चाँडै प्रष्टसँग बोल्न सक्छिन् भनेर कल्पना पनि गरेको थिइन् । नियमित तालिम लिएपछि अहिले छोरी प्रष्टसँग बोल्न सक्ने भएकी छन्,’ ममताका बाबु सूर्य ढुङ्गानाले भने ।
यसरी स्पिच थेरापिस्टबाट नियमित तालिम लिएपछि प्रष्टसँग बोल्ने ममता मात्र होइन अरु धेरै बालबालिकाहरु छन् । पछिल्लो एक वर्षमा फेक्ट नेपालले काठमाण्डौंबाट स्पिच थेरापिस्ट ल्याएर नियमित तालिम दिइरहेको छ । निःशुल्क तालिमबाट आर्थिक वर्ष २०७९÷०८० मा २४२ जना लाभान्वित भए । ती मध्ये ५८ जना प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएको फेक्ट नेपाल, रिसप कार्यक्रमको प्रमुख फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठले जानकारी दिए । फेक्ट नेपालले मुखभित्र तालु चिरिएको कारणले अष्पस्ट बोल्ने बालबाकिलाहरुलाई निःशुल्क शल्यक्रिया गरेपछि बोली शुद्ध बनाउन तालिम दिने गरेको छ । उक्त तालिम विराटनगरमा नै उपलब्ध हुन्छ ।
चालु आर्थिक वर्षको कार्तिक २० गते समापन भएको एक हप्ताको तालिममा ५४ जना बालबालिकाहरु सहभागी भए । विराटनगरस्थित हाम्रो अस्पतालमा पनि निःशुल्क तालिम हुने गरेको स्पिच थेरापिष्ट शिवकुमारी राईले जानकारी दिइन् । तालिममा बालबालिका तथा उनीहरुका अभिभावकहरुलाई खाने बस्ने सुविधा पनि दिने गरिएको छ ।
फेक्ट नेपालका स्पिच थेरापिस्ट शिवकुमारी राईकाअनुसार अभिभावकलाई समेत तालिम दिएर घरमा समेत बोली सिकाउनका लागि प्रोत्साहित गर्ने गरेको बताइन् । शिविरमा आएका बालवालिकाहरुलाई कीर्तिपुर अस्पतालबाट आएका प्रोफेसर डाक्टर शंकरमान राई, शिवकुमारी राई, हिमालसरी राई, निलम श्रेष्ठ, जानुका तामाङ, लिला राना, रेनुका श्रेष्ठ, नैना महतो, अस्मिता चौधरी, जीवनकुमार यादव, विशाल तामाङ, डाक्टर चाँदनी यादव लगायतको टिमले सेवा दिने गरेका छन् ।
विगत २२ वर्षदेखि ओठ तथा तालु (मुख भित्र जिब्रो भन्दा माथी) चिरिएका मानिसहरुको अप्रेशन पश्चात् बोली राम्रो बनाउनका लागि तालिम दिने कार्यलाई निरन्तरता दिइँदैआएको छ । यो तालिम हरेक ३ महिनामा हप्ता दिनसम्म शिविर संचालन गरी हुने गरेको फेक्ट नेपाल, रिसप कार्यक्रमकी नर्स हिमालसरी राईले बताइन् ।

