विराटनगर । एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोपमा विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्य सहकारी संस्थाको कर्पोरेट कार्यालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले छापा हानेको छ ।
समितिका सदस्य सचिव केशव पौडेल नेतृत्वको टोलीले सोमबार सहकारीको विराटनगरको बरगाछीमा रहेको कर्पोटेर अफिसमा छापा मारी महत्वपूर्ण कागजात जफत गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका, जिल्ला प्रहरी कार्यालय र वडाको प्रतिनिधिको रोहबरमा समितिले कार्यालयको सम्पूर्ण कागजात जिम्मा लिएको समितिका सदस्य सचिव पौडेलले जानकारी दिए । ‘हामीले आज कागजात जफत गरेर विराटनगरको कार्यालयमा शिलबन्दी गरेका छौं । भोली लेटाङको मार्ट र झापाको दमकमा रहेको कार्यालय शिल गर्छौं,’ पौडेलले भने, ‘तुलसी सहकारीको गाइघाटमा रहेको शाखामा शिल भइसकेको छ । सिरहाको गोलबजार शाखामा पनि हामी केही दिनपछि शिल गर्छौं ।’
उनले समितिले सबै कागजात लिएर काठमाडौं गएपछि सहकारी ऐन २०७४ को ११२ अनुसार बचतकर्तालाई रकम दाबी पेश गर्न आव्हान गर्ने बताए । ‘सहकारीबाट लिनुपर्ने सावाँ ब्याजसहित माग गर्न अनलाइन मार्फत बचतकर्तालाई आव्हान गर्दै ३५ दिने सूचना जारी गर्ने तयारीमा छौं,’ उनले भने, ‘कसैले फारम भर्न नछुटाउनु होला भनेर मैले पीडितहरुलाई भनेको छु ।’
पीडित बचतकर्तालाई संचालकहरुको र ऋणिको जग्गा जमिन खोज्ने क्रम अगाडि बढेको पौडेलले बताए । यसअघि नै तुलसी सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीको मुद्दा चलाइसकेको छ । तर, बचतकर्ताको व्यवस्थापन गर्ने काम समितिको भएको हुनाले मुद्दामा गएपनि केही फरक नपर्ने पौडेलले बताए । ‘त्यहाँ पनि समन्वय गरेर अगाडि बढ्छौं । हाम्रो तर्फबाट उजुरी र दाबी आएपछि मात्रै बचतकर्ताको कति रकम दायित्व रहेको भन्ने थाहा हुनेभयो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय भूमि व्यवस्था, गरिवि निवारण तथा सहकारी मन्त्रालय अन्तर्गतको निकाय हो । सरकारले समस्याग्रस्त घोषणा गरेको सहकारीको सम्पत्तीको व्यवस्थापन र दायित्व भुक्तानीको जिम्मा पनि यही समितिलाई रहेको छ । सरकारले तुलसी बहुउद्देश्यीय सहकारी संस्थालाई गत भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको हो ।
तुलसी बहुउद्देश्य सहकारी संस्थाले ४१ करोड ६३ लाख भन्दा बढी रकम नियमविपरीत लगानी गरेको सिआइबिको अनुसन्धानबाट खुलेको थियो । यस्तै उक्त सहकारीले झण्डै १७ करोड रुपैयाँको हिसाव नै नराखेको पाइएको छ ।
सहकारीको कूल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २९१ रुपैयाँ अनुसन्धानबाट खुलेको छ । उक्त संस्थाबाट ऋण तथा लगानी भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ छ । हिसावमै नभएको (श्रेष्तामा नदेखिएको) रकम १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ रहेको छ ।
यस्तै सहकारीले नियमविपरीत प्रा.लि. कम्पनीहरुमा ऋण लगानी ४१ करोड ६३ लाख ९५ हजार ३८७ रुपैयाँ गरेको मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले गत चैत २३ गते सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरू विरुद्ध ठगी मुद्दा दायर गरेको थियो । जसमा सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने रहेका छन् ।
सहकारीका संचालकहरुले ३ हजार ६३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा रहेको छ । विराटनगरमा केन्द्रीय कार्यालय सहकारीबाट सबैभन्दाबढी सदस्य रहेको छ । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ बचत गरेका छन् । उनीहरुले ठगी गरेको भन्दै १ हजार ३०७ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी गरेका थिए ।
अध्यक्ष शर्माले संचालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ । उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशमलव ८७ वर्गमिटर अर्थात् ५ बिघा ६ कठ्ठा जग्गा रहेको छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा शर्माको नाममा रहेको छ ।
शर्माले सहकारीको रकम दुरुपयोग गर्दै सबैभन्दा बढी लगानी विराटनगर १९ स्थित तुलसी मोटर पम्पमा गरेका छन् । उनले उक्त मोटर पम्पमा ३२ करोड, झापाको गौरादहमा भएको चिउरा र चामल मिलमा ३४ करोड, झापाको दमक बजारमा रहेको गार्डेन मार्ट, उदयपुर जिल्लाको गाईघाटमा रहेको गार्डेन मार्ट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी जम्मा २५ करोड लगानी गरेका छन् । यस्तै सिरहा गोलबजारमा मार्ट खोल्न तयारीको लागि १ करोड लगानी गरेका छन् ।
निजी कम्पनी र जग्गाबाहेक सवारी साधनमा पनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ । गाडीका सोखिन शर्माले आफू चढ्ने गाडी चार करोडमा खरिद गरेको पाइएको छ । त्यसबाहेक सहकारीको नामा दुई वटा कार ९० लाखमा खरिद गरेको भेटिएको छ । ती कारहरु तुलसी सहकारी संस्थाको नाममा दर्ता रहेको छ । सहकारीको नाममा रहेको प्रदेश ३–०२४ च ४५९२ नम्बरको कार सहकारीका प्रबन्धक मन्दिप खवासले चढ्ने गरेका थिए । अर्को कार संचालक बन्टी अधिकारीले चढ्ने गरेकी थिइन् । मुद्दा परेपछि उनी अहिले फरार छिन् । सहकारी सचिव सविना न्यौपाने निसान कम्पनीको टेरानो कार चढ्ने गरेकी थिइन् । जुन गोर्खा टि.एण्ड कफी इण्डष्ट्रिज प्रा.लि.को नाममा दर्ता रहेको छ ।