विराटनगर ।कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकत्ताका साथ बजेट विनियोजन गर्ने र संघ र स्थानीय सरकारबिच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताउनुभएको हो ।
विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जू गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्ष सहित स्विस सरकारका प्रतिनिधिहरुसंग वृहत् छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमा भइरहेको छ ।
मुख्यमन्त्री कार्कीले केशलीया नदीको एकीकृत विकाशले कोशीप्रदेश साझेदारीको पर्यटन तथा कृर्षिमा समेत टेवा पुर्याउने भन्दै यसकालागि संघ प्रदेश र स्थानीय सरकार बिचको सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले नदीमा नवजीवनसँग जन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षण सँगै सौन्दर्यीकरण गर्न सके आर्थिक लाभ समेत लिन सकिने बताउनुभयो ।
छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौती काबारेमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलीया नदी दक्षिण तर्फ बगेको छ भने बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जू गाउँपालिकाका १, २, ३ लाई छुन्छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, बर्जू गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायलगायतकापालिका उपप्रमुख तथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।

