विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले नेता उद्धब थापाले दिएको राजीनामा अस्वीकार गर्दै उनलाई नै नेताको जिम्मेवारी दिएको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले थापाको असोज २८ गते थापाले दिएको राजीनामा अस्वीकार गरेपछि उनी पुनः जिम्मेवारीमा फर्केका हुन् ।
गठबन्धनले गरेको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै उनले पदबाट राजीनामा दिएका थिए । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयविरुद्ध काँग्रेसका ८ सांसदले विद्रोह गर्दै नेकपा एमालेको सहयोगमा केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि थापाले नैतिकताको आधारमा भन्दै राजीनामा दिएका थिए ।
संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारी फर्कन आग्रह गरेका थिए । सो प्रस्ताबलाई बैठकले पारित गरेको हो । राजनीति ‘ट्र्याक’मा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उनको भनाई थियो ।
बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको छ । उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताएका छन् ।
दलको बैठकले राजीनामा अस्वीकार गरेर आफूलाई नै दल नेताको जिम्मेवारी दिएको थापाले बताए । थापा यसअघि दुई पटक कोशी प्रदेशको मुख्यमन्त्री भएपनि दुबै पटक अदालतबाट पदमुक्त भएका थिए ।