विराटनगर । मोरङको बेलबारीमा रहेको आरजु राइस मिलले भूकम्प पीडितलाई १० हजार किलो चामल सहयोग गरेको छ ।
आइतवार २० केजीको ५०० बोरा चामल बेलबारी नगरपालिकालाई बुझाइएको आरजु राइस मिलका मार्केटिङ प्रमुख सुशील प्याकुरेलले बताए । उनका अनुसार सहयोग गरिएको चामलको मूल्य १२ लाख रुपैयाँ बराबरी पर्छ ।
विपद्को घडीमा सहयोग गर्नु आफ्नो दायित्व भएको प्रमुख प्याकुरेलले बताए ।
जिरा मसिनो तथा बासमती चामलका लागि स्थानीय स्तरमा धान उत्पादन गर्न किसानलाई उत्साहित गर्दै आएको मिलले चामल आयात न्यून गर्ने उद्देश्यले गाउँमा मिल सञ्चालनमा ल्याएको छ ।
चामल बुझ्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले भूकम्प प्रभावित जिल्लामा छिट्टै पठाउने बताएका छन् ।
शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा विनाश निम्त्याएको छ ।
भूकम्पको कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

