काठमाडौं । जातीय, धार्मिक र सामाजिक सद्‌भाव बिगार्ने, घृणा–विद्वेष फैलाउने सामग्री टिकटकबाट हटाइने भएको छ । सद्‌भाव बिगार्ने सामग्री राख्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले यस विषयमा सिंगापुरस्थित टिकटक कार्यालयसँग छलफल गरेको छ। सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्‌भाव खलबल्याउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्यूरोले टिकटक कार्यालयसँग छलफल गरेको हो।

‘छलफलबाट टिकटक मार्फत सामाजिक सद्‌भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्‌भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको छ,’ गृह मन्त्रालले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।