काठमाडौं । शुक्रबार राति गएको भूकम्पबाट ७ वटा जिल्लाका ३ हजार ७७० घरमा क्षति भएको छ ।

गृह मन्त्रालयका अनुसार तीमध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षतिग्रस्त भएका छन् ।

सबैभन्दा बढी जाजरकोटमा २६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन् । भुकम्पको अर्को अतिप्रभावित जिल्ला रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।

भुकम्पको कारण रुकुमपूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ । सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ भने नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ । दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ भने बैतडीमा एउटा घर भत्किएको छ ।

मन्त्रालयका अनुसार प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएका गृह मन्त्रालय अन्तर्गतको विपत पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ ।

भुकम्पको कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । मृतक सबैभन्दा धेरैजाजरकोटका १०५ जना रहेका छन् । त्यहाँ ११२ जना घाइेत भएका छन्।

रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् । यस्तै सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन् ।