खोटाङ । नेपाली सेनाको टोली खोटाङमा स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदानमा खटिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले शुरु गरेको श्रमदान अभियानमा नेपाली सेनाका २५ जवान खटिएका हुन् ।

दिक्तेलबाट सेकुवाखोलासम्म सडक कालोपत्र भइसकेको भएपनि पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको करिब २०० मिटर सडकमा समस्या हुन थालेपछि मर्मतको लागि श्रमदान गरिएको हो । पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिराले हिलाम्मे हुने गरेकाले सेनाको सहयोगमा श्रमदानमार्फत मर्मत शुरु गरिएको दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए ।

खोलामा पुल निर्माणको काम अलपत्र हुँदा आवातजावतमा समस्या हुने गरेको छ । पुलको करिब ३० प्रतिशत काम गरेर ठेकेदार भागेपछि ठेक्कासमेत रद्द भएको छ । अब नयाँ बोलपत्र आह्वान भएर पुनः पुल निर्माण कहिले शुरु हुने भन्ने टुङ्गो नभएको स्थानीयले बताएका छन् ।

पुल निर्माणका लागि छाडिएको सडकमा निरन्तर सवारीसाधन अवरुद्ध हुन थालेपछि मर्मत शुरु गरिएको हो । सडक मर्मतका लागि खटिएका सेनाको टोलीलाई वडाध्यक्ष कठेतले व्यक्तिगत रुपमा खाजा उपलब्ध गराएका छन् । श्रमदान अभियानमा सवारीसाधन फस्ने करिब ७५ मिटर सडक सोलिङ गर्ने योजना रहेको छ ।

सडक मर्मतका लागि वडाध्यक्ष कठेतको अनुरोधमा सहभागी भएको
गोरखनाथ गणका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए । स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा सेनाले सहयोग गर्दै आएको उनको भनाइ छ ।

पुलका लागि छाडिएको पूरै सडकमा नाली निर्माणसमेत गरिनेछ । सिरुवा कन्ट्रक्सनले विसं २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्ने गरी २०७२ असोज ६ गते पुल बनाउने ठेक्का सम्झौता गरेको थियो । तेस्रोपल्ट थप भएको म्याद २०७७ असोज ३० गते नै नाघिसकेको छ ।

निर्माण कम्पनीले पुल अलपत्र पारेर छाडेपछि नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गत चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । पक्राउ पर्ने डरले निर्माण कम्पनीले केही समय काम गरेजस्तो गरे पनि पुनः रोकिएपछि ठेक्का तोडिएको हो ।