विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् ।

टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी बेपत्ता भएको दुई महिना हुनलाग्दा पनि कुनै पत्तो नलागेको भन्दै परिवारले खोजी कार्यमा सहयोग मागेको छ ।

गत भदौ ३० गते बिहान ८ः४७ सम्म आफ्नी श्रीमतीसँग फोनमा कुराकानी गरेका सुवेदीसँग त्यसपछि परिवारको सम्पर्क भएको छैन । सुवेदीका बुबा नेत्रप्रसाद सुवेदीले आइतबार विराटनगर पत्रकार सम्मेलन गरि छोराको खोजी कार्यमा सहयोगको अपिल गरेका छन् ।

पत्रकार सम्मेलनमा बेपत्ता सुवेदीका बाबु र दाजु

परिवारका अनुसार श्रीमतीसँग अन्तिम पटक कुराकानी गरेका सुवेदीलाई सोहि दिन दिउँसो १२ बजे पुनः फोन गर्दा मोवाईल अफ रहेको थियो । सुरुमा मोवाईलको चार्ज सकिएर अफ भएको ठानेको भएपनि बेलुकी ५ बजेसम्मपनि सम्पर्क नभएपछि भने उनी बेपत्ता भएको खुलेको थियो । त्यसयता उनको कुनै सम्पर्क भएको छैन ।

छोराको खोजीमा सुरक्षा संयन्त्रको सहयोग नपाएको परिवारले गुनासो गरेको छ । प्रहरीले खोजतलासमा चासो नदिएको र नेपाल टेलिकमले आफ्नो कर्मचारी हराउँदा पनि कुनै वास्ता नगरेको उनीहरुको भनाइ छ ।

हराएको दिन बिहान दिलिपले कार्यालयका सुरक्षा गार्डसँगै पसलमा आएर चिया पिएको देखिएको छ । त्यसपछि उनीहरु कार्यालयमा एकसाथ फर्किएका थिए । कार्यालय फर्किएपछि सुवेदी आफ्नो निवासमा छिरेको भएपनि त्यहिंबाट उनी वेपत्ता भएका थिए ।

उनी कार्यालय परिसरबाट बाहिर निस्केको नदेखेको गार्डले बताउँदै आएको परिवारले जनाएको छ । सुवेदीको खोजीको लागि परिवारले प्रहरीमा निवेदन दिएको भएपनि प्रहरीले खास धेरै चासोका साथ खोजतलास नगरेको बुबा नेत्रप्रसादको गुनासो छ । जिल्ला प्रहरी कार्यालय झापाले चासो दिए छोराको अवस्था पत्ता लाग्नसक्ने परिवारको बुझाई छ ।

सुवेदी सामान्य कपडामा चप्पल लगाएर वेपत्ता भएको परिवारले जनाएको छ । परिवारले संभावित क्षेत्रमा अनुसन्धानका लागि प्रहरीसँग आग्रह गर्दै आएको छ । प्रहरीले घरपरिवारसँगको कनेक्सन, बाँकी बाहिरी क्षेत्रको कनेक्सन, कार्यालयका सुरक्षा गार्डसँगको कनेक्सनलगायतका विषयमा कल डिटेल हेरेको बताए पनि कुनै जानकारी नभएको परिवारको भनाइ छ ।

सुवेदीले गत फागुनमा ब्रजुना भट्टराईसँग विवाह गरेका थिए । टेलिकम कार्यालयदेखि ५०० मिटरको दुरीमा रहेको क्वाटरमा चाबी लगाएको र पिएको पानीको ग्लाससमेत ओछ्यानमै रहेको अवस्थामा मोवाईल बोकेर बेपत्ता भएका सुवेदीको स्कुटीको चाबी, मोवाइलको चार्जर र पर्स कोठामै पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दिलिप सुवेदीको विषयमा खोजी र अनुसन्धान भईरहेको बताएका छन् ।