काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘सोधपुछ’ गरेको छ ।

आइतबार ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको थियो ।

ब्यूरोको एसपी पशुपति रायका अनुसार प्रसाईलाई आवश्यक सोधपुछ गरिएको छ । सामाजिक सञ्जालमा प्रमाणबिना जथाभावी बोल्दै आएका प्रसाईँविरुद्ध परेको उजुरीबारे सोधपुछ भएको हो ।

‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ उनले भने। के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।

सामाजिक सञ्जालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाई छ ।