जाजरकोट भुकम्पपछिको सरकारी जिम्मेवारी

 सम्पादकीय

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भुकम्पमा १५० भन्दा धेरै नागरिकको दुःखद निधन भएको छ । शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुइँचालो जाँदा रूकुम र जाजरकोटमा शुक्रबार साँझसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भुकम्पमा परेर करिब २०० जना घाइते भएका छन् । भुकम्पमा हजारौं घर भत्किएका छन् । २०७२ को भुइँचालोयता भएको सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति हो । भुकम्पपछिको उद्धार कार्यमा यसपटक सरकारी सक्रियता प्रभाबकारी देखियो । प्रधानमन्त्री प्रचण्ड विहानै चिकित्सकको टोलीसहित घटनास्थल पुगेर प्रत्यक्ष वस्तुस्थितिको अवलोकन गरेर आवश्यक निर्देशन दिएर फर्किए । उद्धार कार्यको लागि सरकारी संयन्त्रहरु रातिदेखि नै परिचालित भए । जसले गर्दा विपद्पछिको क्षति न्युनिकरणमा भने मद्दत पुगेको छ । अब पीडितहरुको निःशुल्क तथा प्रभावकारी उपचार गर्ने तथा पीडितलाई राहत वितरण गर्ने काममा सरकारी सक्रियताको खाँचो छ ।

भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार एवं राहत र खोजीमा जुध्न सरकारसहित आम नागरिक पनि परिचालित हुनुपर्छ । राति गएको भुइँचालोको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो । आधा रातमा गएको भुइँचालोले पश्चिम नेपालका धेरै ठाउँमा मान्छेहरू घरबाट निस्केर बाहिर जम्मा भएका थिए । केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ । यसले पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमलाई संकेत गरिरहेको विज्ञहरु बताउँछन् । जाजरकोट क्षेत्रतिरै अर्को भुइँचालो पनि आउनसक्ने जोखिम रहेको बताइन्छ । ६ म्याग्निच्युडको भुइँचालो त १०–१० वर्षमा जाने बताइन्छ । हाम्रो मुलुकको प्राकृतिक भूगोलले नै भुकम्पको जोखिम रहेको छ । त्यसैले ठूलो भूकम्पको पूर्वतयारीमा नेपाल सधैं सचेत र तयारी हुनुपर्ने विज्ञहरु बताउँछन् ।

पश्चिम नेपालमा यस्तो भूकम्प कुनै पनि बेला जान सक्छ भनेर पूर्वानुमान छँदैथियो । हामीले समयमै भौतिक संरचना बलियो बनाउन संघ, प्रदेश, स्थानीय सरकारहरु चुकेकै हुन् । ५, ६, ७ को भुइँचालोलाई मज्जाले थेग्न सकिन्छ । किनिक अहिले गएको भुकम्पले भने पुराना र पिलर सिस्टम नभएका घरहरु भत्काएको छ । पिलर भएका घरहरु नभत्किएको रिपोर्ट छ । नेपालमा रहेका ८० लाख घरमध्ये १० लाख मात्र भूकम्प प्रतिरोधी रहेको मानिन्छ । बाँकी रहेका घरहरुलाई भुकम्प प्रतिरोधि बनाउन राज्यले नीतिगत र व्यवहारिक रुपमा काम गर्न सक्नुपर्छ । त्यसो हो भने ८ म्यानिच्युटभन्दा साना भुकम्पहरुको क्षति न्युनिकरण हुनेछ । जाजरकोट र पश्चिम रुकुममा घरहरू कच्चा भएको र रातको समय भएकाले धेरै मानवीय क्षति भएको हो ।

गत असोज १७ गते बझाङलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युड र गत वर्षको कात्तिक २२ गते डोटीमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला क्षति कम भएको थियो । माटो ढुंगाले जोडेर बनेका र ढुंगाले नै छाएर बनाएका घरहरूमा भुकम्पले बढी क्षति गरेको छ । अझ पराकम्पन थपिदै जाँदा घरहरू धेरै भत्किएर क्षति धेरै भएको छ । त्यसैले भुकम्प क्षति न्यूनिकरण गर्न सचेतना तथा पूर्वतयारीमा लाग्न आवश्यक छ । अहिलेलाई भने प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्र्थानामा सबै मिलेर काम गर्नुपर्छ । घटनामा मृत्यु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना ।

आइतबार, १९ कार्तिक, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर