धरान । सुनसरीको धरान ११ मङ्गलबारेमा रहेको सुन पसल नुना स्टोर बन्द गरेर भागेका सञ्चालक वसन्त राईले ६० जना बचतकर्ताको २५ करोड रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने देखिएको छ ।

गत बुधवार ३ करोड रुपैयाँ लिएर सञ्चालक सम्पर्कविहीन भएको समाचार सार्वजनिक भएपछि थप बचतकताको ठूलो रकम लिएर राई हिँडेको खुलेको हो ।

सञ्चालक वसन्त राई ४ सदस्यीय परिवारसहित भागेपछि १८ जना पीडितहरूले यसअघि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । अहिले थप ३६ जना पीडितहरूले दोस्रो निवेदन प्रहरीमा दिएका छन् ।

अहिलेसम्म आफ्नो रकम, सुन लिएर राई सम्पर्कविहीन भएको भन्दै प्रहरीमा पुग्नेको संख्या ६० पुगेको छ । उनीहरू समेतको रकम जोड्दा २५ करोड रुपैयाँभन्दा बढीको सुनसहित रकम लिएर सञ्चालक राई भागेको देखिएको प्रहरीले जनाएको छ ।

पीडितहरूले शुक्रबार दिउँसो बन्द रहेको नुना स्टोरमा भेला भई पत्रकार सम्मेलन गरेका थिए । स्टोरका सञ्चालक राई कात्तिक २ गतेदेखि स्टोर बन्द गरेर सम्पर्कविहीन भएको पीडित चन्द्रकुमारी तामाङले बताइन् । उनको मात्र ९४ लाख रुपैयाँ नगद राईले चलाएका छन् ।

सञ्चालक राई परिवारसहित कुनै जानकारी नदिई हिँडेकाले फरार भएको चन्द्रकुमारीको भनाई छ । छिमेकी समेत रहेका सञ्चालक राई कसैलाई थाहा नदिई स–परिवार हिँडेको जस्तो लागेपछि उनीहरुको मोवाइलमा फोन गर्दा दुबै नम्बरमा फोन नलागेको पीडितले बताएका छन् ।

राईले चन्द्रकुमारीलाई कात्तिक २ गते रकम लिन बोलाएका थिए । तर, रकम लिन जाँदा स्टोर बन्द भएकोले उनी त्यसै घर फर्किएकी थिइन् । त्यसपछि स्टोर बन्दै रहेकोले उनी भागेको खुलेको हो । चन्द्रकुमारीले जग्गा बेचेर स्टोरमा रकम जम्मा गरेको जानकारी दिएकी छन् ।

फरार वसन्तसँग १९ वर्ष अघि देखि कारोबार गर्दै आएका बलराम तामाङले ५९ लाख ९१ हजार रुपैयाँ जम्मा गरेका थिए । उनले स्टोर सञ्चालक राईसँग सहकारी समेतको कारोबार बाँकी रहेको छ ।

स्टोरमा बुद्धिमान तामाङको ८२ लाख रुपैयाँ छ भने ७२ वर्षीया लक्ष्मी तामाङले व्याजबाट औषधि उपचार गर्न १० लाख रुपैयाँ राखेकी थिइन् । वीरबहादुर तामाङले बिपी प्रतिष्ठानबाट जागिर छोड्दा पाएको उपदान ७ लाख राखेका छन् ।

स्टोरमा सुनचाँदी बाहेक रेमिटेन्सको समेत कारोबार गरिन्थ्यो । हालसम्म फुर्वा शेर्पा राई, स्मृति राई, शान्ता राई, राम बिक, चन्दा राई, दीपेन्द्रकुमार लिम्बू, केदार राई, सङ्गीता राई लिम्बू समेतले सुनको कारोबार गर्दै आएका थिए । बन्धक राखिएको सुन निकाल्न बुझाएका साँवा र ब्याज रकम सुनसमेत लिई सञ्चालक वसन्त फरार भएका छन् ।