विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नाप जाँच भएर निस्किएको एक ट्याक्टर सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरिएको आशङ्कामा सशस्त्र प्रहरी बल मोरङले विराटनगर १७ आई सिपी रोडबाट एउटा ट्याक्टरमा लोड भएको सामान आज नियन्त्रणमा लिएको हो ।

बीआर ३८ ए ६८४४ नम्बरको ट्याक्टरमा लोड भएको मिलको सामानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ थापाले जानकारी दिए । उक्त ट्याक्टरमा लोड भएको समानको भन्सार मुल्याकंन कम गरी राजस्व छली गरेको हुनसक्ने भएकोले प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टर र सामान सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान गरी कारबाहीको लागि इटहरी राजस्व कार्यालयमा बुझाएको छ । राजस्व कार्यालयले अनुसन्धान पछि मात्र भन्सार छली भए नभएको पत्ता लाग्नेछ ।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरको सामान कसको भन्ने खुलिसकेको छैन । उक्त समानको भन्सार सहजीकरण एजेन्ट किशोर शाहीले गरेका छन् ।