अन्तर्राष्ट्रियकरण भएको जलवायु परिवर्तनको मुद्दा

 सम्पादकीय

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा जलवायु परिवर्तनबाट भएको असरको मुद्दा विश्वव्यापी भएको छ । सगरमाथा र अन्नपूर्ण हिमालको काखमा पुगेर गुटरेशले जलबायु परिवर्तनको असर हेर्न नेपालको हिमाली क्षेत्रमा आउन विश्व समुदायलाई अपिल गरेका छन् । त्यति मात्र हैन, उनले जलबायु अनुकूलनको लागि छुटाइएको कोषको रकम नेपालले पाउनुपर्ने बताए । जलवायु अनुकूलनको लागि बनाइएका कोषहरूको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरूले पाउनुपर्नेमा उनले जोड दिए । जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरूलाई आग्रह गर्दै उनले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या कम गर्नका लागि पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वका करिब दुई सय देशहरुको साझा संस्था संयुक्त राष्ट्रसंघका महासचिवबाट यस्तो प्रतिबद्धता आउनु यो भ्रमणको मुख्य सफलता हो । यसले नेपाललाई विश्वभर चिनाउनुको साथै जलबायु परिवर्तनको असरबारे पनि बहस बढाउने अपेक्षा गरिएको छ । विश्वका विकसित देशहरूका ठूला औद्योगिक नगरीहरूबाट निस्कने प्रदूषणले जलवायु परिवर्तनमा सबैभन्दा ठूलो असर गरिरहेको छ । जलवायु नै आफ्नै अनुकूलमा विकास गर्ने प्रयासमा रहेका विकसित देशहरूको क्रियाकलापले पनि जलवायु परिवर्तनमा काम गरिरहेको छ । उनीहरूको क्रियाकलापसँग कुनै साइनो नभएको नेपालजस्ता देशले त्यसको असर भोग्नुपर्ने बाध्यता छ । यो पृथ्वीकै अस्थित्वको लागि पनि खतराको विषय हो । त्यसैले यो मुद्दालाई नेपालले विश्व मञ्चमा उठाइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले केहि समयअघि भएको संयुक्त राष्ट्रसंघको महासभामा पनि यो विषय गम्भीर रुपमा उठाएका थिए । प्रधानमन्त्रीले विश्वका नेताहरुको ध्यान केन्द्रित गर्दै उठाएको विषयलाई अहिले गुटरेशले नेपालमै आएर उठाएका छन् । प्रधानमन्त्री प्रचण्डको निम्तोमा नेपाल आएका उनले उठाएको सवालले अब जलवायु अनुकूलनको लागि संयुक्त राष्ट्रसंघकोे प्रभावकारी भूमिकाको अपेक्षा गरेको छ । तापमान परिवर्तनका कारण नेपालमा वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद्लगायतका असर पर्दै आएको छ । जसले गर्दा खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पर्न थालेको छ । राष्ट्रसंघले वातावरण संरक्षण र विकसित राष्ट्रका गतिविधिका कारण नेपालको जलवायुमा परेको असरको क्षतिपूर्तिस्वरूप प्राप्त हुने रकममा अब वृद्धि गर्नुपर्छ । गुटरेशको भ्रमणपछि यो अपेक्षा गर्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न र जलवायु परिवर्तनका कारण भएका भूस्खलनले धेरै समुदायमा परेको नकारात्मक असरलाई अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्ने प्रतिबद्धता गुटरेसले जनाएका छन् । पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि सञ्चालन भएका कोषहरूबाट नेपालले उचित क्षतिपूर्ती पाउन सकेको छैन । अब पाउनुपर्छ । स्वच्छ हावापानी भएको देश नेपालले विकसित देशहरूले प्रकृतिमाथि गरेको अत्याचारको सजाय भोग्नु परेकोले त्यसको क्षतिपूर्ती नेपाललै पाउनैपर्छ । राष्ट्रसंघका महासचिवले नेपाल आएर नजिकबाट नियालेको यो विषय अब सम्बोधन हुनुपर्छ । नेपालका सेताम्मे हिमालहरु काला पहाडहरूमा परिणत हुँदै गरेको दृश्यलाई विश्वसामु राखेर विश्वको नै ध्यान केन्द्रित गर्न राष्ट्रसंघ र गुटरेसको भूमिका हुनुपर्छ ।

बिहिबार, १६ कार्तिक, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर