धरान । सुनसरीको धरान ११ स्थित नुमा स्टोर सुनचाँदी पसलका सञ्चालक वसन्त राई सर्वसाधारणको करिब ३ करोड रुपैयाँ लिएर सम्पर्कविहीन भएका छन् ।
सुनचाँदीको कारोबारसहित मनी ट्रान्सफरको व्यवसाय पनि गर्दै आएका राईले सर्वसाधारणसँग बढी व्याज दिने गरी रकमउठाउने गरेका थिए ।
स्थानीय पीडित स्थानीय चन्द्रकुमारी तामाङले सयकडा १८ रुपैयाँ ब्याज दिने भनेपछि नुमा स्टोरमा ९४ लाख रुपैयाँ राखेकी थिइन् । छिमेकी पनि भएकोले धेरै वर्षदेखि कारोबार गर्दै आएको बताउँदै उनले अहिले एक्कासी राई फरार भएपछि तनाबमा रहेको बताइन् ।
ब्याज बापत केही रकम दिएका सञ्चालक राई साँवा रकम फिर्ता नदिई पसल छाडेर भागेको उनको भनाई छ । चन्द्रकुमारीका अनुसार उनलाई कार्तिक २ गते पैसा लिन बोलाएर पैसा नदिई त्यही दिनदेखि सञ्चालक राई परिवारसहित सम्पर्कविहीन भएका छन् ।
धरान ११ का बुद्धिमान तामाङले पनि सोही मनी ट्रान्सफर पसलमा ८२ लाख रुपैयाँ राखेका थिए । रकम फिर्ता पाएका छैनन् । राईले बढी ब्याज दिने भन्दै दुर्गा देवी तामाङसँग ३१ लाख रुपैयाँ र नउमती राईबाट २५ लाख रुपैयाँ लिएका थिए ।
सञ्चालक राईले ‘विश्वास जितेर घात गरेर भागेको’ बताएका छन् । राईले मनी ट्रान्सफरबाट मात्र नभई सुनचाँदीको व्यवसायबाट पनि ठगी गरेको पीडित मणिराज राईले बताए । चार तोला सुन धितो राखेर लिएको ऋण १ लाख ७७ हजार १० रुपैयाँ तिरिसकेपनि कात्तिक २ गते सुन लिन बोलाएर राई सुन नदिई फरार भएको उनको गुनासो छ ।
स्थानीय धनकुमार राई, प्रेणा गुरुङ, प्रेमलाल चौधरी लगायत ८ जना भन्दा बढीसँग धितोमा राखेको सुन र उकास्न तिरेको पैसा दुवै लिएर वसन्त सम्पर्क विहीन भएका हुन् । बम प्रकाश राईले साँढे ३ तोला सुन धितो राखेको र उकास्न १ लाख ५ हजार तिरेका थिए । तर, उनले सुन फिर्ता पाएनन् नै तिरेको पैसा पनि लिएर सञ्चालक राई फरार भएका छन् ।
पीडितहरू ठगीमा परेको उजुरी दिन इलाका प्रहरी कार्यालयमा गएका थिए । प्रहरीले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएका कारण जाहेरी दर्ता नगरेको पीडित धनकुमार राईले बताए ।
स्थानीय १८ जनाभन्दा धेरै व्यक्ति नुमा स्टोरका सञ्चालक वसन्तबाट ठगिएको पीडितहरूको भनाई छ । इलाका प्रहरी कार्यालय धरानमा ठगी आरोपमा उजुरी दिन गएका पीडितहरूको सुची १८ जनाको नाम छ ।
प्रहरीका अनुसार सञ्चालक राईले १८ जनाबाट मात्र ३ करोड बराबर रकम लिएको देखिन्छ । तीमध्ये पनि अन्य धेरै उपभोक्ताबाट रकम लिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
पछिल्लो समय धरानमा बचत तथा ऋण सहकारी संस्थाहरू करोडौँ रकम ठगी गरी फरार हुने क्रम बढ्दो छ । धरानका सहकारीले अहिलेसम्म करिब १५ अर्ब रुपैयाँ ठगी गरेर फरार भएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

