झापा । झापाको कमल गाउँपालिका –६ का ३६ वर्षीय अनिल कार्कीको मृत्यु शंकास्पद रहेको भन्दै त्यस घटनामा संलग्न संलग्न सबैलाई कानुनी दायरामा नल्याएसम्म परिवारले उनको शव नबुझ्ने अडान लिएका छन् ।

उनीहरूले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरूलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् । मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले मंगलबार दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका विषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभूति हुन नसक्दा घटना भएको र त्यसको तथ्य आफूहरूसँग रहेको दाबी गरे ।

घटनापछि उनका ससुरा, पत्नी र वडाध्यक्ष भट्टराई फरार हुनु शंकास्पद रहेको परिवारको दाबी छ । उनीहरूले कार्कीमाथि उनकी पत्नी चाहना, ससुरा पुण्यप्रसाद पोखरेल र वडाध्यक्ष नरेन्द्र भट्टराईले समेत कुटपिट गरेको प्रमाण आफूहरूसँग सुरक्षित रहेको पनि बताए । वडाध्यक्ष भट्टराईसहित तीन जनाविरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाध्यक्षको नाम हटाएर दुई जनाविरुद्ध मात्र प्रहरीले कानुनी प्रक्रिया सुरु गरेको जानकारी आफूहरूले पाएको बताउँदै मृत्यु प्रकरणका दोषीहरूलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेको आरोप लगाए ।

कार्की आइतबार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए ।पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो ।

दसैँको महानवमीका दिन कार्की र उनकी श्रीमतीबिच झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यस बेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आरोप आफन्तहरुले लगाएका छन् । दसैँ बिदामा घर आएका कार्कीमाथि श्रीमती, वडाध्यक्ष भट्टराईसहितले कुटपिट गरेको भन्दै दसैँको टीकाको दिन इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए ।

सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भने पनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयढंगले मृत्यु भएको थियो ।

जिल्ला वन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्षदेखि ससुराली छेउमा घर बनाएर बस्दै आएका थिए । उनका एक जना नाबालिक छोरी छन्