गोकुल पराजुली
कोशी प्रदेश दुध उत्पादनमा आत्मनिर्भर बनेको छ । यहाँका किसानले उत्पादन गरेको दुधले बजाउ पाउन गाह्रो पर्न थाल्नु र बजारमा दुग्धजन्य वस्तु मागको तुलनामा धेरै हुनुले पनि उत्पादन बढेको दाबीलाई पुष्टि गर्दछ । उत्पादनको तुलनामा दुधको बिक्री हुन छोडेपछि दुध उत्पादक उद्योग तथा सहकारीका प्रतिनिधिहरुले नयाँ बजारको खोजी गर्न थालेका छन् ।
हुन त नेपालमा अहिले पनि भारतमा उत्पादित दुधको आपूर्ति हुने गरेको छ । दुध तथा दुधबाट बनेका विभिन्न वस्तुहरुमात्र होइन खुला सिमानाबाट दैनिक हजारौं लिटर दुध सीमावर्ती क्षेत्रका सहकारी वा संकलन केन्द्रहरुमा आइपुग्ने गरेको छ । त्यसले पनि स्वदेशी उत्पादनको बजार घटाइरहेको छ ।
यो वर्ष सुख्खा सिजनमा पनि विगतमाजस्तो दुधको उत्पादन घटेन । सिजनमा अनुमान गरेभन्दा बढी दुध उत्पादन भइरहेको छ । यसले दुधको नयाँ बजार खोज्न डेरी उद्योग संचालक र स्वयं किसान तथा सहकारीहरुलाई बाध्य बनाएको छ । यसै मेसोमा नेपाली डेरी सञ्चालकहरु दुधको अन्तर्राष्ट्रिय बजारको खोजीमा लागेका हुन् । कोशी प्रदेशमा मात्र नभएर केही समययता मधेश, बागमती र अरु प्रदेशमा पनि व्यवसायिक गाई तथा भैंसी फर्महरु बढेका छन् । नश्ल सुधार गरी उन्नत जातका गाई पाल्ने प्रचलन बढेका कारणले पनि दुधको उत्पादन बढेको निश्कर्षसहित यतिबेला सरकारी र निजी दुवै क्षेत्रले दुधको अन्तर्राष्ट्रिय बजारको खोजी थालेका छन् । यो कृषि प्रधान मुलुकका लागि एउटा सकारात्मक सूचना हो ।
अहिले संघीय सरकारको एउटा प्रतिनिधि मण्डलले मलेसियामा दुध निर्यात गर्ने सम्भावनाको खोजी गर्दै छलफल अगाडि बढाएको छ । अर्को कोशी प्रदेशका दुध उत्पादक उद्योगहरुको प्रतिनिधि मण्डलले छिमेकी मुलुक बंगलादेशमा बजारको खोजी गरिरहेको छ । त्यसको केही प्रगति पनि भएको बताइन्छ । बंगलादेशका डेरी उद्योगहरुले यहाँबाट केही दिन अगाडि मात्र दुधको स्याम्पल (नमूना) लिएर गएका छन् । उनीहरु नेपालमा उत्पादित धूलो दुध लैजान सकारात्मक बनेका छन् । तर बटर लैजान भने उनीहरुले खासै इच्छा देखाएका छैनन् । युरोपबाट दुध र बटर आयात गर्दै आएको बंगलादेशलाई नेपालले नयाँ बजारको रुपमा अगाडि बढाउन सक्दा निकै लाभ हुने छ । तर युरोपमा उत्पादित दुधको तुलनामा नेपाली दुध महंगो पर्ने भएकोले बंगलादेशका व्यापारीहरुको तर्फबाट नयाँ प्रस्ताव आउनसक्ने अनुमान गर्न सकिन्छ ।
दुध उत्पादनमा आत्मनिर्भर बन्ने अवस्थासँगै नयाँ बजारको खोजी गर्नु स्वभाविक हो । तर सुरुमै अन्तर्राष्ट्रिय बजार खोज्नु भन्दा आन्तरिक खपत बढाउने तर्फ सरकार र निजी क्षेत्र दुवैले ध्यान दिन सक्नु लाभदायक छ । अहिले सरकारले विद्यालय खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय खाजा कार्यक्रममा स्वास्थ्यलाई हानी पुग्ने मैदाबाट बनेका तथा फास्टफुडका विभिन्न परिकारहरु खुवाउने गरिएको छ । यस कार्यक्रमका लागि सरकारले वर्षेनी अरबौं खर्च गरिरहेकोले विद्यालय खाजामा अनिवार्य दुध तथा दुधबाट बन्ने दही, मोही आदिको उपभोग बढाउने पहल गर्नुपर्छ । यसो गर्न सक्दा दुधको खपत बढ्न जाने र बालकालिकाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव राख्न योगदान पुग्छ । कुपोषणबाट ग्रस्त ग्रामीण बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन यसले भूमिका खेल्न सक्छ । त्यसैले बालदबालिकाको स्वास्थ्य सँगै आन्तरिक उत्पादनको खपतको सुनिश्चितता गराउँदै दुधको नयाँ बजार सिर्जना गर्ने तर्फ तीनै तहका सरकारहरुले विशेष ध्यान दिनुपर्छ । त्यससँगै अन्तर्राष्ट्रिय बजारको खोजी गरी दुध उत्पादनलाई अभ ब्यापक विस्तार गर्ने कामलाई निरन्तरता दिनुपर्छ ।