विराटनगर । मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर बेलबारी नगरपालिका ८ की अन्दाजी २८ वर्षीय सुनीता राजवंशीको मृत्यु भएको हो । बेलबारी–८ स्थित बलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर सुनीतालाई पुरेको थियो ।

ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा सुनीतालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउन साथ उनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।