संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि भाद्र १६ देखि आन्दोलनमा छन् । पीडितहरुले दशैमा पनि आन्दोलनलाई निरन्तरता दिए ।
खाँदबारी नगरपालिका–४, छयाङ्कुटी देखि चिचिला गाउँपालिका –२, दिदिङ्ग सडक खण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् । छ्याङकुटी–दिदिङ पुखुवा सडक खण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक पटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित पक्षले अनिश्चितकालीन आन्दोलनलाई जारी राखेका हुन् ।
अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले आयोजनाको निमार्ण सामाग्रीमा ढुवानी अवरोध गरी आन्दोलनलाई निरन्तरता दिएको छ । सो सडक खण्डमा अरुण तेस्रो आयोजनाको निर्माण सामग्री ढुवानीमा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पडित संघर्ष समितिले रोक लगाउँदै आएको छ ।
विधुत् उत्पान गृह हाउसको प्रवेश केन्द्र छ्याङ्कुटीमा भेलाभएर मुआब्जा पीडितहरुले दैनिक नारावाजी गर्दै संघर्ष समितिले आयोजनाको सम्पुर्ण ढुवानीका सवारी साधनमा रोक लागएको केन्द्रीय संघर्ष समिति संयोजक जनीकुमार राईले जानकारी दिए । बैंक खातामा रकम जम्मा हुने ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोक्ने संयोजक राईले बताए । मुआब्जा दिन छुटेको ४५४ रोपनी जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीहरुले आयोजनाको निर्माण सामग्री ढुवानीमा रोक लागएका छन् । यस बाहेको जग्गाको मुआब्जा २०४६ सालमा नै दिएको भएपनि छुट जग्गाको मुआब्जा जग्गाधनीले अझै पाउन सकेका छैनन् ।
आयोजनाको ६५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएपनि जग्गाधनीले मुआब्जा पाएका छैनन् । गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । छुट जग्गाको बारेमा सरकारको मन्त्रिपरिषद्को बैठकले मुआब्जा दिने निर्णय गरेको भएपनि सरकारले मुआब्जा भुक्तानी गरिसकेको भने छैन ।

