सम्पादकीय
नेपालीहरुको प्रमुख चाड दसैँ सकिएको छ । शनिबार कोजाग्रात पूर्णिमा दिन टीका बिसर्जन गरी जमरा सेलाएर बहुसंख्यक नेपालीहरुको सांस्कृतिक र मौकिल चाड दसैँ बिदा भइसकेको छ । झण्डै एक महिनासम्म ठूला चाडपर्व र विभिन्न संस्कृतिमा रमाउने नेपालीहरु दसैं सकिएसँगै तिहार पर्वको तयारीमा जुटेका छन् । तिहारकैबीचमा आउने महपूजा, नेवार समुदायको नयाँ वर्ष, तराईमा विशेष महत्वका साथ मनाइने छठ पर्व आदि नजिकिने भएकोले नेपालीहरु कात्तिक महिनाभर फेस्टिभ मुडमै रहने छन् ।
भर्खरै दसैँलाई बिदा गरेर केही दिन सामान्य दैनिकीमा फर्कने तरखरमा जुटेपनि महंगीको सामना गर्दै पर्व मनाएका सीमान्तकृत नेपालीहरु पर्वले बोकाएको ऋण फस्र्यौट गर्ने तरखरमा काममा फर्किन थालेका छन् । दसैँमा गाउँ फर्केकाहरु फेरि रोजगारस्थल शहर, बजार र छिमेकी मुलुकका विभिन्न ठाउँमा जाँदा केही दिन भरिभराउ भएको हाम्रो गाउँसहर खाली हुँदै उराठलाग्ने बन्न थालिसकेका छन् ।
हाम्रा चाडबाडहरु विशेष खालका छन् । वर्षदिनभर विभिन्न ठाउँमा छुट्टिएर बसेकाहरु भेला भएर मठो खाने, आपमा भेटघाट गरेर रमाउने, मान्यजनबाट आशिर्वाद लिने र सम्बन्धलाई सुमधूर बनाउँदै बर्करार राख्ने विशेषताभएकोले दसैँको विशेष महत्व छ । यसले मानवीय गतिविधिलाई तीब्र र चहलपहलयुक्त बनाइदिन्छ । जसले रमाइलो मात्र दिँदैन कतिपय अवस्थामा दुःख पीडा र बेदना पनि छोड्ने गर्दछ । एकै पटक ठूलो जनसंख्या एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्नुपर्दा सवारी साधनको चाप, कमजोर व्यवस्थापन आदि कारणले हुने दुर्घटनामा परेर पर्वकै अवधिमा धेरैले ज्यान गुमाउने गरेका छन् । यो वर्ष पनि त्यो दुखान्त दोहोरिएको छ । कोशी प्रदेशमा मात्र दसैंको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएको छ । जसमा १६ जनाले ज्यान गुमाएका छन् । दसैँ मनाउन हिडेका र रमाइलो गर्ने क्रममा ध्यान नपु¥याउँदा भएको दुर्घटनामा यति ठूलो धनजनको क्षति हुन पुगेको हो । यी दुर्घटनामा परेर २६५ जना घाइते हुन पुगे भने ४२ जना गम्भीर अवस्थामा उपचाररत छन् ।
सवारीजन्य दुर्घटना हरेक दिन हुँदै आएका छन् । यसलाई न्यूनीकरण गर्ने तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ । हुन त गएको वर्ष भन्दा कोशी प्रदेशमा दसैँको अवधिमा हुने दुर्घटनामा निकै कमी आएको छ । गत वर्ष दसैँको ६ दिनमा १८० दुर्घटना भएका थिए । यस वर्ष त्यो घटेर १३५ मा झरेको छ । तर मानवीय क्षति भने घटेन । यस वर्ष पनि गतवर्षकै बराबर १६ जनाको ज्यान गयो । यसलाई न्यून बनाउने तर्फ सुरक्षा निकायले विशेष योजना बनाएर कार्यान्वयन गर्न आवश्यक छ । सडकमा सवारी चेकजाँचलाई बढाउने, मदिरा सेवन गरेर सवारी चलाउन निरुत्साहित गर्ने जस्ता कार्य चाडबाडमा बढी नै गर्न जरुरी छ ।
अहिले दसैँ मात्र सकिएको हो । हाम्रा मुख्य पर्वहरु बाँकी नै छन् । यस अवधिमा सडक सुरक्षामा देखिएको कमजोरीलाई सच्याउन ट्राफिक प्रहरीले थप योजनाहरु कार्यान्वयन गरेर नेपालीहरुलाई सुरक्षापूर्वक चाड मनाउने वातावरण तयार पार्न थप मिहेनत गर्न जरुरी छ ।