धनकुटा । धनकुटाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र बनेको छ । साँगुरीगढी गाउँपालिकामा निर्माण गरिएको गाउँपालिकाकै ठुलो पार्कका रूपमा विकास गर्ने उद्देश्यले निर्माण कार्य थालिएको उक्त पार्क बजेट अभाव भएको भन्दै अलपत्र पारिएको छ । जनजाति पार्क साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण थालिएको थियो।
नाम्जेमा आर्थिक वर्ष २०७५/७६ मा पार्क निर्माणको काम सुरु गरिएको थियो । एक करोड ३५ लाख रुपैयाँको लागत रहने अनुमान गरिएको थियो । पार्कमा हालसम्म प्रदेश सरकारको एक करोड ४४ लाख रुपैयाँ खर्च भइसकेको छ। आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारको सशर्त लगानीमा सो पार्कको गत वर्षदेखि निर्माण सुरु गरिएको थियो।
पार्क निर्माणका लागि गाउँपालिकाको बजेटले धान्न नसक्ने भएपछि प्रदेश र संघ सरकारलाई निर्माणका लागि आग्रह गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।सभा हल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भ बनाइएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा ७५ लाख रुपैयाँको काम हुन नसकी रकम फिर्ता गएको थियो भने चालु आर्थिक वर्षमा २०७९–८० मा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
समयमा काम पूरा गर्न पर्याप्त बजेट नआएकाले पार्क निर्माण पूरा हुन नसकेको गाउँपालिका अध्यक्ष राईको भनाइ रहेको छ ।

