विराटनगर । मुगुमा एकै परिवारका चार जनाको हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका – ६ मा एकैपरिवारका ४ जनाको हत्या गरिएको अवस्थामा शव भेटिएको े हो । प्रहरीको अनुसार स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । ‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’, जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाले भने, ‘शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’

प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहेका छन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए । ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’, थापाले भने ।

प्रहरीले अनुसन्धानमा सघाउन नेपालगञ्जबाट कुकुर मगाएको छ। शुक्रबार रातिसम्म कुकुर पुग्नेछ। त्यसपछि मात्र मुचुल्का गर्ने तयारी प्रहरीले गरेको छ। प्रहरीले मृत्युको कारणबारे भने खुलाएको छैन।

श्रीदेवीका काका नाता पर्ने छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार सबैको टाउको र घाँटीमा घाउ छ ।