विराटनगर । जसरी समय बदलिँदै गएको छ, दशैं पनि उत्तिकै बद्लिँदै गएको छ । यसको प्रत्यक्ष साक्षीमध्येका एक हुन्, विराटनगर १२ का गोपाल कट्टेल ।

उमेरले अहिले ७३ वर्ष लागेका उनले त्यो बेलादेखि यो बेलासम्मको दशैं प्रत्यक्ष भोगिसकेका छन्, जहाँ उनी आकाश र जमिनको अन्तर भेट्टाउँछन् । ‘त्यो बेला केही मरमसला, थान कपडा, टुकी बाल्ने मट्टीतेल र केही खिस्रीमिस्री सामान किने दशैं सकिन्थ्यो’, उनले भने ‘अहिले त त्यत्तिले के नै हुन्छ र !’

उनले भने जस्तै पूरापूर कृषिमा आधारित अर्थतन्त्र कायम रहँदासम्म धेरैजसो नेपालीको दशैं किनमेल यतिमै सकिन्थ्यो । अलि हुनेखानेले फुर्मासी गर्नु बेग्लै कुरा, नभए नगदमा आधारित अर्थतन्त्रको यो स्वरुप नहुन्जेल दशैंलाई आवश्यक अधिकांश मालसामान आफैं उत्पादन गरेर जोहो गरिन्थ्यो । ‘तोरीको तेल, चिउरा, केरा, खसीबोका, धानचामल सबै आफैसँग हुन्थ्यो’, कट्टेल सम्झिन्छन् ‘त्यसबेला हातमा पैसा फिटिक्कै हुन्नथ्यो ।’

समयसँगै दशैंको किनमेल शैली फेरिएको छ । अहिले दशैंका लागि केही झ्ञ्झ्ट गर्नुपर्दैन, पैसा भए बजारबाट छानीछानी मालमत्ता ल्याउन सकिन्छ । नगदमा आधारित अर्थतन्त्र फस्टाएपछि किनमेलको यो प्रवृत्ति ह्वात्तै बढेको छ । अब पहिले झैं वर्षको एकपल्ट बजार छिर्नुपर्ने अवस्था छैन । र पनि, किनमेल गर्ने अवसर बनिरहेकै छ, दशैं । लत्ताकपडादेखि गरगहना, गाडी–मोटरदेखि टीभी, फ्रिज र वासिङ मेसिन जस्ता विद्युतीय उपकरण, भाँडाकुँडा र मरमसलादेखि माछामासु र फलफूलको किनबेच यही बेला चम्किने गर्छ ।

तीन चार दशकअघिसम्म परम्परागत निर्वाहमुखी कृषिमा निर्भर समाजमा सीमित परिवारसँग मात्र पैसा हुन्थ्यो । चाडपर्व मान्न साहूलाई गुहार्नेहरू ऋण तिर्न नसकेर विलखबन्दमा परेका कथाव्यथा छ्याप्छ्याप्ती हुन्थे ।
अहिले अवस्था फरक छ । दशैंमा नयाँ नोट अपरिहार्य झैं बनेको छ । तर, दक्षिणाका रूपमा नयाँ नोट चाहिने प्रचलन पहिले थिएन । न नयाँ नोटको माग थियो, न राष्ट्रब्यांकले वितरण गथ्र्यो । अहिलेको दशैं भने बजारको अभिन्न अंग झैं बनिसकेको छ ।

मीठो खाने, राम्रो लाउने र पारिवारिक मिलनको अवसर बन्ने गरेको दशैं अहिले उपभोगको चाड बनिसक्यो भन्दा फरक पर्दैन । अर्थशास्त्री केशव आचार्य आफूले देख्दादेख्दै दशैं उपभोगको चाडमा बदलिएको ठान्छन् । आचार्य भन्छन्, ‘अत्यावश्यक वस्तु मात्र खरीद गरिने दशैंमा मैले देख्दादेख्दै मदिरा र विलासीका सामानको उपभोग ह्वात्तै बढेको छ ।’हुन पनि, पश्चिमा देशहरूले मनाउने क्रिसमस अगाडिको ब्ल्याक फ्राइडे÷साइबर मण्डे, चीनको सिंगल्स डे (इलेभेन इलेभेन) जस्तै दशैं–तिहार नेपालीका खरीददारी गर्ने पर्व बनिसकेका छन् । अर्थशास्त्रीहरू देशको कुल राष्ट्रिय वार्षिक उपभोगको २० प्रतिशतसम्म दशैंताका खपत हुने अनुमान गर्छन् ।

पछिल्लो समय आयआर्जनका अवसर बढेसँगै नेपालीको आम्दानी पनि बढिरहेको छ । वस्तु र सेवा उपभोगका हिसाबले दशैं उपभोगको चाड झैं देखिए पनि सरकारी र औद्योगिक क्षेत्रको खर्च ठप्प हुने हुँदा दशैं–तिहारमा अर्थतन्त्रलाई नोक्सानी पुग्ने तर्क पनि एकथरीको छ । लामो विदाले गर्दा उत्पादनमूलक र विकास परियोजनाका काम नहुने हुँदा अर्थतन्त्रलाई लाभभन्दा हानि पुग्ने तर्क पनि बलियो छ ।

हुन पनि, आयातमा आधारित अर्थतन्त्र भएकाले उपभोगमा खर्च हुने ठूलो धनराशि बाहिरिन्छ । खाद्यान्न, लत्ताकपडा, मदिरा, सवारी साधन, मासु, फलफूल लगायतका वस्तुको खपत दशैंका बेला नै धेरै हुने हुँदा यो चाडले बजारलाई समेत गुल्जार बनाउँछ । परिवारलाई वर्षभरि पुग्ने नयाँ लत्ताकपडा किन्ने चलन फेरिए पनि दशैंमा केही न केही लुगाफाटो किन्ने चलन यथावत् छ ।

विभिन्न ‘अफर’ हरूले सस्तो पर्ने हुँदा जुत्ता चप्पलदेखि परिधान र विद्युतीय सामग्रीदेखि सवारी साधन किन्ने अवसर दशैं नै हो । शहरिया मध्यम र उच्च वर्गको आवश्यकता बनिसकेका मोटरसाइकल तथा निजी गाडी ‘दशैं विशेष छूट अफर’ का कारण यहीबेला बढी बिक्री हुन्छन् । मदिरा उत्पादक–व्यवसायीका लागि त दशैं उत्सव नै हो ।

संगठित क्षेत्रका जागिरेले थप एक महीनाको तलब–भत्ता पाउने, रेमिटेन्सका कारण नगद प्रवाह बढ्ने र घर परिवारमा नयाँ सरसामग्री जोड्न यही चाडबाड पर्खने प्रवृत्ति दशैंमा कारोबार बढ्नुका प्रमुख कारण हुन् । निजी क्षेत्रमा कार्यरत अरू लाखौं कर्मचारीले पाउने बोनसको आँकडा छुट्टै छ । दशैंतिहार यातायातमा धेरै खर्च हुने समय पनि हो । सहरमा बस्ने आधाजति दशैंका बेला घर फर्कन्छन् । यही चापका कारण दशैंताका हवाईजहाज मात्र होइन, बसको टिकट पाउन पनि मुश्किल हुन्छ ।

उपभोगमा हुने खर्चले पनि अर्थतन्त्रलाई चलायमान बनाउँछ, तर आयातमा निर्भर अर्थतन्त्र भएकाले यसको लाभ भने विदेशमा पुग्छ । आन्तरिक उत्पादन भइदिएको भए देशको आर्थिक क्रियाकलापमा लाभ हुन्थ्यो, आयातमा आधारित उपभोग भएकाले समग्रमा चाडपर्वले अर्थतन्त्रलाई घाटा धेरै छ । दशैंमा विदेश घुम्ने प्रवृत्ति फस्टाएकाले पनि थप रकम विदेशिइरहेको छ ।