धरान । कम गुणस्तरको वाईवाई चाउचाउ उत्पादन गरेर बजारमा पठाएको पुष्टि भएपछि सुनसरीको धरान उपमहानगरपालिकाले सिजी कम्पनीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
सिजीको उत्पादन वाईवाई चाउचाउ परीक्षण गर्दा कम गुणस्तर भएको रिपोर्ट आएपछि उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजार अनुगमन समितिले जरिवाना गर्ने निर्णय गरेको हो ।
बिहीबार उपमेयर बेघाको अध्यक्षता र मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा आयोजित समितिको बैठकले सिजीलाई २ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार वाईवाई चाउचाउ खरिद गरेर लगेका उपभोक्ताले दुर्गन्ध आएको गुनासो असोज २५ गते गरेपछि उपमहानरले कार्वाहीको प्रक्रिया थालेको थियो ।
उपभोक्ताले धरान १५ मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको चाउचाउ गुणस्तरहिन रहेको जानकारी आएपछि बजार अनुगमन अधिकृतसहितको टोली पुगेको थियो । उक्त स्टोरबाट मुचुल्का उठाएर वरामद गरेको चाउचाउ २६ गते परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवामार्फत विराटनगरको प्रयोगशालामा परीक्षणको लागि पठाएको थियो ।
परीक्षणको रिपोर्टमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु १ भन्दा बढी नहुनुपर्नेमा २.८५ देखिएको थियो । तोकिएको भन्दा बढी एसिड भ्यालु भएको रिपोर्ट आएकोले यो कम गुणस्तरको खान अयोग्य चाउचाउ भएको पुष्टि भएको अनुगमन अधिकृत सापकोटाले बताए । त्यसैले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च सबैको उपस्थितिमा बैठक बसेर कानुनमा भएको व्यवस्था वमोजिम तत्काल २ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको हो ।
सापकोटाका अनुसार बैठकले सुनसरीको गढी गाउँपालिका २ औरावनीमा कार्यालय भएको सिजी कम्पनीलाई जरिवाना तोकिएको हो । जरिवाना शुक्रबार तिर्ने कम्पनीले प्रतिवद्धता जनाएको र जरिवाना नतिरेसम्म धरानमा वाईवाई चाउचाउ बिक्रीवितरण नगर्न निर्देशन पनि दिइएको उनले बताए ।
समितिले बरामद गरेको ९ कार्टुन चाउचाउ र खुला रहेको ८२ प्याकेट चाउचाउ पनि नष्ट गरिएको सापकोटाले जानकारी दिए ।