विराटनगर । मोरङ बुढिगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी केवल उद्योगबाट निस्कने प्रदुषित पानीको असरले स्थानीय किसानको उब्जाउ जमिन बाँझो बनेको छ । उद्योगको पानीले खेत बाँझिएपछि स्थानीय किसानले खेती लगाउनै छाडेका छन् ।
उद्योगी पारस लुनियाले सञ्चालन गरेको यो उद्योगबाट निस्कने रसायनयुक्त प्रदूषित पानी सोझै खेतीयोग्य जमिनमा पस्ने गरेको छ । यही समस्याका कारण खेती लगाउनै छाडेको स्थानीयबासीले बताएका छन् । स्थानीय विमला शर्माको मोरङको बुढीगंगा गाउँपालिका – ३ गोकुवा चोकमा तीन बिघा जमिन छ । उनले तीन बिघा क्षेत्रफलमा सिजन अनुसारको बाली लगाउने गरेकी थिइन् । वर्षमा तीन बाली भित्र्याउने उनले केही वर्षयता खेत बाँझै छाड्ने गरेकी छन् । जमिन छेउमा रहेको उद्योगकै कारण उनले जमिन बाँझै छाडेको धेरै भइसकेको छ ।
‘उद्योगबाट केमिकल मिसिएको दूषित पानी खेतीयोग्य जमिनामा पस्ने गरेको छ । उद्योगकोे पानी खेतमा पसेपछि बाली नष्ट हुने गरेको छ । हामीले पटक–पटक भनिसक्यौं । छलफल पनि भयो । तर, उद्योगबाट निस्किने फोहर पानी खेतीयोग्य जमिनमा पठाउन छोडेन,’ विमलाले भनिन्, ‘जुनसुकै बाली लगाए पनि उद्योगबाट निस्किएकोे पानी खेतीमा पसेपछि बोट विरूवा सुकेर मर्न थाल्छ ।’ यस विषयमा बुढीगंगा गाउँपालिका र उद्योग संगठनमा पटक– पटक छलफल हुँदा पनि अहिलेसम्म उद्योगले केमिकलयुक्त पानी खेतबारीतिर फाल्न छोडेको छैन ।
‘हामीले उद्योगबाट निस्किने फोहर पानी व्यवस्थित गर्न पटक–पटक छलफलमा भनेका छौं । अहिलेसम्म कुनै सुनवाइ भएन,’ उनले भनिन्, ‘त्यही भएर धान बाली पनि लगाउन छोडियो । खेती लगाएर मात्र के गर्नु ,उत्पादन नहुने भएपछि ! ’ यसअघि लगाएको धान बाली उद्योगबाट निस्किएकोे पानीले मारिदिएको उनको आरोप छ । ‘बाली लगाउँदा लागत मात्रै खेर जाने गरेको छ । त्यसैले अहिले खेती नलगाई जग्गा बाँझो राखिएको छ,’ उनले भनिन् ।
विराटनगर– इटहरी सडक खण्डमा जोडिएको बुढीगंगा ३ गोकुवा चोकमा रहेको महालक्ष्मी केवल उद्योगबाट केमिकल भएको पानी मात्र नभएर कालो धुलोले स्थानीयवासी र यात्रुलाई सास्ती हुने गरेको छ । यो उद्योगबाट बुढीगंगा ३ का स्थानीय बासिन्दा बढी समस्यामा परेका छन् । धुवाँको कारण राजमार्ग भएर आवातजावत गर्ने सर्वसाधारण पनि हैरान छन् ।
धुवाँ र उद्योगबाट निस्किने केमिकल मिसिएको दुर्घन्धित पानीले बस्न नसक्ने अवस्था बनाएको छ । ‘उद्योगीलाई जथाभावी धुवाँ नछाड्न र केमिकलयुक्त पानी नालामा नफाल्न हामीले पटक–पटक आग्रह ग¥यौँ,’ उनले भनिन्, ‘तर, सञ्चालकले हाम्रो आग्रहलाई बेवास्ता गर्दै आएका छन् ।’ उद्योगले केमिकल मिसिएको पानी र धुवाँ र धुलो व्यवस्थापन गर्नेतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । धुवाँले वरिपरिका स्थानीयलाई खान, बस्नै समस्या भएको छ । उद्योगबाट निस्कने धुवाँले आँखामा समस्या हुने गरेको छ । उद्योगको धुुवा र प्रदूषित पानीले जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको स्थानीको भनाइ छ ।
स्थानीय तहका जनप्रतिनिधि उद्योगबाट निस्किने प्रदूषित पानी र धुवाँको समस्याप्रति मौन छन् । गाउँपालिका र वडा कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानीय बताउँछन् । बुढीगंगा गाउँपालिकाभित्र महालक्ष्मी केवलसहित, जानकी, आरती स्ट्रिप्सलगायतका दर्जनौँ उद्योग सञ्चालनमा छन्् । तर, धेरैजसो उद्योगले प्रदूषण नियन्त्रण गर्ने उपकरण राखेका छैनन् ।
घरेलु तथा साना उद्योग कार्यालय मोरङकी प्रमुख जानुका न्यौपानेले अहिलेसम्म गुनासो कतैबाट पनि नआएको र अनुगमन नगरिएको बताइन् । ‘हामी भोलि नै निरीक्षण गर्नेछौं र त्यहाँको अवस्था बुझने काम हुनेछ,’ उनले भनिन्, ‘स्थानीयलाई असर पर्ने गरी प्रदूषण र केमिकलयुक्त पानी बारीमा पसेको रहेछ भने उद्योगलाई कारवाही हुनेछ । ’
पीडित स्थानीयवासीहरू भने सरकारी निकायले नै बेवास्ता गरेको आरोप लगाउँछन् । बस्तीबाट उद्योग जतिसक्दो चाँडो सार्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ । यता उद्योग संचालक पारस लुनियाले तारको काम गर्ने उद्योगबाट केमिकलयुक्त पानी बाहिर नजाने गरेको दाबी गरे । ‘उद्योगबाट पानी निस्किन्छ । तर, दूषित हुदैन । हात धुने पानी बाहिर निस्किएको हो,’ उनले भने ।