विराटनगर । नेकपा माओवादी केन्द्र को कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमाले जबरजस्ती सत्ता गठबन्धनमा घुसेकोले अब बाहिरिनुपर्ने बताएका छन् ।
बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्बोले एमालेले अब सरकारबाट बाहिरिएर नैतिकता देखाउनु पर्ने बताए ।
आफूहरुले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निसर्त मत दिएको भन्दै आङ्बोले गठबन्धनको समस्या समाधान भइसकेकोले एमालेसँग राजनीतिक नैतिकता बाँकी छ सरकारबाबाट बाहिरिनुपर्ने टिप्पणी गरे । ‘गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनु पर्छ,’ उनले भने, ‘यो सरकार गठबन्धनको हो ।’
प्रदेशसभाको बैठकमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधि रोक्न केदार कार्कीलाई समर्थन गरेको दावी गरेका थिए । गठबन्धनकै कारण सरकार निर्माणको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ५ मा पुगेको आरोप लगाउँदै उनले त्यसमा एमाले दोषी नभएको जिकिर गरे ।
गठबन्धनले सरकार बनाउन नसक्ने र बनाएपनि टिक्न नसक्ने प्रमाणित भइसकेकोले आफूहरुले मध्यावधि रोक्न कार्कीलाई समर्थन गर्दा यसलाई विथोल्ने प्रयास भइहरेको उनको भनाइ थियो । गठबन्धनको नामा फेरि पनि जबरजस्ती गरे मध्यावधिको जोखिम रहेको भन्दै उनले एमाले र काँग्रेस मिलेर सरकार चलाउने धाराणा गरेका थिए ।

