धरान । जिल्ला प्रशासन कार्यालय धनकुटाले आफ्ना नेता, कार्यकर्ता बिनाशर्त रिहा भएपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले धनकुटा बन्द फिर्ता लिएको छ ।
धनकुटाका ३ जना पहिचानवादी कार्यकर्ताहरु मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बुलाई पक्राउ गरेको विरोधमा मंगलबारदेखि संघर्षसमितिले अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरेको थियो ।
पक्राृ परेकाहरुको विनासर्त रिहा भएपछि बन्द फिर्ता भएको हो । रिहा भएकाहरुलाई आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि स्वगत गरेका थिए । बन्दका कारण धरान–धनकुटा रुटबाट पूर्वी पहाडी जिल्ला हिँडेका सार्वजनिक यातायात, निजी सवारीहरूलाई बिहानैदेखि आन्दोलनकारीले भेडेटारमा रोकेका थिए ।
सवारी साधनको जाम, अलपत्र यात्रुहरूको भिडले भेढेटार निकै बेर तनावग्रस्त बनेको थियो । कोशी नाम खारेजी आन्दोलनको क्रममा केही दिन अघि धनकुटाको चौबिसेमा एमालेको भातृ सङ्गठन युवा सङ्घको कार्यक्रम अवरोध गरेको आरोपमा प्रहरीले उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू ५ दिनदेखि धनकुटा प्रहरीको हिरासतमा थिए ।
उनीहरूलाई रिहा नगरे धनकुटा बन्द गर्ने चेतावनी आन्दोलनकारीले दिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले सोमबार रिहा गर्ने आश्वासन दिएको थियो । तर, आश्वासन अनुसार उनीहरू रिहा नभएकोले मङ्गलबार बिहानैदेखि आन्दोलनकारीहरूले धनकुटाका सबै नाकाहरूमा यातायात अवरुद्ध गरेका थिए ।
दशैंको बेला यातायात बन्दले आर्थिक गतिविधि, चाडबाड मनाउन थातथालो हिँडेकाहरूलाई नराम्रो असर पर्ने भएपछि प्रशासन आन्दोलनकारीहरूलाई रिहा गर्न बाध्य भएको हो । यातायात ठप्प भएपछि प्रहरीको हिरासतबाट उनीहरूलाई जिल्ला प्रशासनमा ल्याई रिहाइ गरिएको सङ्घर्ष समितिले जनाएको छ ।