विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र कप्युटर प्रदान गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, एक थान कम्प्युटर र प्रिन्टर र २१ थान ट्राफिक कोण उपलब्ध गराएको हो ।

गत भदौ २६ गते कार्यपालिकाको बैठकले १ लाख ८६ हजार ९४६ रुपैयाँ मूल्य बराबरको सामग्री हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा प्रहरीलाई साइकल र प्राविधिक सामग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए । सोमबार मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेललाई उक्त सामग्री अध्यक्ष चौधरीले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने कामको सुरुवात गरेको बताए । भएको सीमित स्रोत साधनले काम गर्दै आएको प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । प्रहरी नायव निरीक्षकको नेतृत्वमा कटहरीमा प्रहरी चौकी स्थापना भएको छ । पाँच कठ्ठा क्षेत्रफलमा भवन बनाउने काम पनि भइरहेको उनले बताए ।

कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सीमित स्रोतसाधनले प्रहरीले शान्ति सुरक्षा कायम गर्दै आएको बताए । कटहरीबाट सहयोग प्राप्त भएको साधन स्रोतले शान्ति सुरक्षामा थप सहयोग पुग्ने बताए । शान्ति सुरक्षा प्रहरीले एक्लैले मात्र सम्भव नभएको बताउँदै उनले सबैको साथ सहयोगको खाँचो रहेको बताए ।

ट्राफिक नियमको पालना गरेर सवारी दुर्घटना न्युनीकरण गर्नुपर्नेमा उनले जोड दिए । भएको कानुन कार्यान्वयन गर्न सबैको साथ सहयोग आवश्यक भएको र त्यसो हुँदा अपराध रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने पोखरेलले बताए ।
कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सितादेवी राजवंशी, वडा अध्यक्ष, सदस्य, मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेलगायतको उपस्थिति थियो ।