विराटनगर । कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने सौय ऊर्जा निर्माणको कार्य करिब ९० प्रतिशत पूरा भइसकेको छ । चार बर्षअघि रु. ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ ।

झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिगाहा जमिनमा २२ हजार ६०० सोलार प्यानल जडान गरिने उनले जानकारी दिए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिना अघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ ।

‘यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ’, निर्देशक भट्टराईले भने ‘अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाडै सक्छौं ।’ सो परियोजना निर्माणका लागि माछापुछ«े बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु.२० करोड शेयरदाताहरुबाट लगानी गरिएको उनको भनाई छ । उनले जलविद्युत परियोजना भन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत परियोजनाबाट दिन सकिने दाबी गरे ।

विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित उर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचनाहरु एक बर्ष अघि नै तयारी भइसकेको बताइन् । उनले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताइन् । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ ।
झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालबहादुर साँवा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य उर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ । उनले नेपाल विद्युत प्राधिकरणलाई यहाँ उत्पादित विद्युत प्रतियुनिट रु. ७.३० का दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिए ।