विराटनगर । गठबन्धनको निर्णय उल्लंघन गर्दै नेकपा एमालेको साथ लिएर कोशीको मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीले आइतबार आफ्नै नेता शेखर कोइरालाले गरेको सहमति पनि तोडेका छन् ।
कार्की मुख्यमन्त्री हुने भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेस नेता शेखर कोइरालाबीच भएको सहमति फेरि उल्लंघन भएको हो । ‘गठबन्धन बलियो बनाउने’ गरि तीन नेताबीच भएको सहमतिविपरित कोशीमा आज मुख्यमन्त्री केदार कार्कीले आफूलाई सहयोग गर्ने काँग्रेसको विद्रोही समूह र नेकपा एमाले समेटेर मन्त्रिपरिषद गठन गरेका छन् ।
प्रचण्ड, देउवा र कोइरालाले कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन नदिने सहमति गरेपछि कोशीमा एमालेबाहेक गठबन्धनकै सरकार बन्ने कतिपयको अनुमान थियो । बालुवाटारमा भएको सहमतिले एमाले पनि झस्किएको थियो ।
प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा भएको सहमतिपछि चितवन पुगेर कोशीमा उत्पन्न समस्याको समाधान भएको बताउँदै अब गठबन्धनकै सरकार बन्ने दावी गरेका थिए । उनले तीन नेताबीच भएको सहमतिले अब गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धकै मुख्यमन्त्री भएको स्पष्ट पारेका थिए ।
बालुवारको सहमतिपछि मुख्यमन्त्री कार्की शपथ नलिई शनिबार नै काठमाडौं पुगेका थिए । उनले काँग्रेस नेता कोइराला, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर फर्किका थिए । देउवासँग गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता कार्कीले जनाएको बताइएको छ । तर, विराटनगर फर्किएपछि कार्कीले मन्त्रिपरिषद गठन गर्दा विद्रोही कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसका कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९ सांसदमध्ये ८ जना र एमालेका ३९ जनाले हस्ताक्षर गरेका थिए। सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि शेखर पक्षका कार्कीले ८ सांसदसहित विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।
सपथपछि मुख्यमन्त्री केदार प्रदेशमा सहमतिको सरकार बन्ने दावी गरेका छन् । आफू नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गर्दै उनले सबै दल सहभागी भएको सहमतिको सरकार बनाउनेगरि आफूले प्रयास गर्ने बताएका छन् । प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने उनको भनाइ छ ।
नेकपा एमाले संसदीय दल नेता हिक्मतकुमार कार्कीले भने सरकारमा एमाले र काँग्रेसबाहेक अन्य दल सहभागी हुने कुरा स्वीकार नगर्ने बताएका छन् । एमालेको यस्तो चेतावनीपछि कार्कीले आज एमाले र काँग्रेसका विद्रोहीलाई सहभागी गराएको बताइन्छ । यद्यपि एमाले आजै आफ्ना तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान राखेकोमा कार्कीले त्यसलाई भने अस्वीकार गरेका छन् ।
काँग्रेस नेता कोइराला पनि कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएपछि बालुवाटर सहमति पालना गरेर जाने पक्षमा रहेको निकट स्रोतले जनाएको छ । उनले आज सकेसम्म आफूले मात्र सपथ लिन कार्कीलाई भनेको बताइन्छ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन समस्या पर्नसक्ने देखेर एमालेलाई पनि सरकारमा सहभागी गराएको काँग्रेसका एक नेताले बताएका छन् ।
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको एमालेसँगको सत्ता सहयात्राको प्रारम्भमै विवाद सिर्जना भएको छ । आइतबार आफूसहित केही मन्त्रीलाई सपथ गराउने मुख्यमन्त्री कार्कीको योजनामा एमाले बाधक बनेपछि मुख्यमन्त्री र दुई जना मन्त्रीले मात्रै सपथ लिएका छन् ।
काँग्रेसबाट इलामका शमशेर राई र एमालेबाट इलामकै राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका कार्कीले प्रदेश प्रमुखबाट सपथ लिनुअघि एमालेसँग छलफल गरेका थिए ।
एमाले नेता तथा पूर्व मुख्यमन्त्री हिक्मत कार्कीसँग मुख्यमन्त्रीले छलफल गरेका थिए । उक्त छलफलमा एमाले नेता कार्कीले एमालेबाट तीन जना नभए पनि कम्तीमा दुई जनालाई सपथ गराउन भनेका थिए । तर, मुख्यमन्त्री कार्कीले सुरुमै तीन जना नियुक्त गर्न नसकिने बताएपछि विवाद भएको थियो ।
‘राम राना, एकराज कार्की र सृजना राईलाई मन्त्री बनाउनु भन्ने हिक्मत कार्कीको ठूलो दबाब थियो’, मुख्यमन्त्री निकट स्रोतले भन्यो ‘तर, मुख्यमन्त्रीले मान्नुभएन । अहिले एक जना मात्रै गरौं भन्ने उहाँको अडान थियो ।’ मुख्यमन्त्रीको अडान सुनेपछि हिक्मत कार्कीले एकराज कार्कीलाई आइतबार नै सपथ गराउन दबाब दिएका थिए ।
‘हामीले तपाइँलाई मुख्यमन्त्री बनाउन सहयोग गर्यौं, हाम्रो संख्या पनि ठूलो छ’, एमाले नेता कार्कीले मुख्यमन्त्रीलाई भनेका थिए ‘त्यसैले आज दुई जनालाई सपथ गराउनुस् ।’ जवाफमा मुख्यमन्त्री कार्कीले त्यसो भए काँग्रेसबाट पनि दुई जनाकै गराउँछु भनेपछि दुवै पक्ष एक –एक जना मन्त्री बनाउन सहमत भएका थिए ।