गुरुराज घिमिरे
नेपाली काँग्रेसको राजनीतिमा कोशी प्रदेशको हकमा म पनि महत्वपूर्ण मान्छे हुनुपर्ने हो । यद्यपि केन्द्रीय राजनीतिमा पनि बसेर काम गरिसकेको र नेविसंघमा नेतृत्व गरिसकेको हुनाले हाम्रो कार्यक्षेत्र देशैभरी हो । तथापि प्रदेश १ को म पनि सरोकारवाला हो । प्रदेशको डेभलपमेन्टको बारेमा मलाई थाहा पनि भएन । सुझाव दिने मौका पनि पाइएन । न केन्द्रीय कार्यसमितिले, न प्रदेश कार्यसमितिले वा इतर पक्ष प्रतिस्पर्धी समूहले पनि कुनै सल्लाह र सुझाव माग्ने अथवा सल्लाहहरुमा सरिक गराउने प्रयत्न नै गरिएन । यो नै गलत थियो ।
अर्को कुरा धारा १६८ (५) भनेको चाहिँ अरु प्रकृतिको धारा होइन फरक धारा हो भन्ने हामीले बुझेका छौं । त्यो सहुलियत हरेक प्रदेशसभा सदस्यलाई हुन्छ । त्यो सहुलियतको उपयोग गर्नुलाई अन्यथा मान्न मिल्दैन हामी मान्दैनौं पनि । तर, त्यो धारा उपयोग गर्दा पार्टीको सम्मति चाहिने कि नचाहिने ? पार्टीले गठबन्धनमा बसेर एउटा निर्णय ग¥यो । त्यो निर्णय सही थियो वा गलत थियो त्यसको छुट्टै पाटो छ । उद्धव थापाको विकल्पै छैन भन्ने अतिवादी सोच हो ।
संसदीय दलको नेता १६८ को २ र ५ मा चाहिँदैन । धारा १६८ को १ र ३ लाई दलको नेता चाहिने हो । तर, पार्टीले निर्णय गर्दाखेरि उद्धव थापाको कुनै विकल्प छैन भनेर गठबन्धनतिर कदम चालियो । पार्टीको त्यो निर्णय पनि ठिक थिएन । विकल्पमा पनि छलफल गर्नुपथ्र्यो । त्यसमा सहमति नभएपछि बल्ल गठबन्धनमा जानुपथ्र्यो । त्यहाँ पनि पार्टी नेतृत्वको त्रुटी देखियो ।
अब रह्यो विकल्पमा छलफल गर्ने साथीहरुले पनि पार्टीसँगको सम्बन्धमा बरकरार राखेर, दबाब सिर्जना गरेर केन्द्रीय समितिमा, पदाधिकारी बैठकमा दबाब दिएर सहमति लिएर अगाडि बढ्नु पथ्र्यो । यो निर्दलीय राजनीति त होइन । दलीय राजनीतिमा व्यक्ति केन्द्रविन्दु हुन सक्दैन । यसरी यो अभ्यासलाई अगाडि बढाएको हुनाले मेरो असहमति छ ।
प्रजातान्त्रिक पार्टीलाई हामीले अभ्यास र व्यवहारले पूर्ण प्रजातान्त्रिक बनाउने हो । प्रजातान्त्रिक पार्टीको सैद्धान्तिक प्रतिबद्धताले मात्रै प्रजातान्त्रिक पार्टीको रुपमा सिद्ध हुँदैन । हामी सदैव विधिको पक्षमा, विधिसम्मत प्रक्रियाको पक्षमा छौं । तर हाम्रो पार्टी आफ्नो अनुकूलतामा विधि र विधिबाहिर । विधिपूर्वक अनुकूल हुँदा विधिमा जाने र विधि बाहिर जाँदा अनुकूल भयो भए त्यतातिरै जाने अभ्यास हुँदै आएको छ ।
भातृ संस्था गठनमा पनि पार्टीले विधि नाघेर निर्णय ग¥यो । त्यसमा पार्टीका सबै नेता सहमत भए । अब एकपछि अर्को गर्दै आफ्नो अनुकूलतामा विधि तोड्दै गएपछि विधि तोडेर पनि कुनै कुरा प्राप्त गर्ने आवश्यकता महसुस जसले ग¥यो उसलाई त राम्रो भयो । त्यही धरातलमा टेकेर उसले आफ्नो अनुकूल निर्णय गर्ने भयो । यसमा हामीले हुर्काएको परम्परा जिम्मेवार छ । त्यसो भएको हुनाले १६८ (५) लाई उपयोग गर्न पाइन्छ । उपयोग गर्नलाई अन्यथा भनेको होइन तर यसलाई पार्टीभन्दा बाहिर गएर, पार्टीको निर्णय भन्दा बाहिर गएर गर्नुहुँदैन थियो । पार्टीको निर्णय गलत या सही भन्ने विषय समीक्षा गरौंला । त्यहाँ पार्टीको गुटबन्दी हावी भयो । तर, यो पार्टीको सम्मति तोडेर अगाडि जाने कुरालाई पनि मैले सकारात्मक रूपमा लिन सक्दिन ।