लालबाबु पण्डित भन्छन् ‘एमालेले शेखरलाई जितायो, मलाई हरायो’

विराटनगर । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा गठबन्धन गर्ने संस्थापन पक्षको निर्णयप्रति नेपाली काँग्रेसका नेडा डा. शेखर कोइरालाले लामो समय असन्तुष्टि जनाएका थिए ।

काँग्रेस एक्लै चुनावमा जानु पर्ने उनको मत पार्टीमा सुनुवाइ भएन । निर्वाचनमा उम्मेदवार छनौट गर्दा ६० र ४० प्रतिशतका आधारमा भागबण्डा गर्नुपर्ने उनको प्रस्तावलाई पनि काँग्रेस संस्थापनले अस्वीकार गरिदियो । गठबन्धन गर्ने विषयमा सैद्धान्तिक र उम्मेदवार छनौटका क्रममा गुटगत मतभिन्नता भएपछि कोइराला समूह संस्थापनको निर्णयलाई कमजोर बनाउनेतर्फ अग्रसर भएको थियो । त्यसक्रममा कोइराला पक्षले पार्टी विभाजनसम्मकै योजना बनाएर जसरी पनि गठबन्धन भत्काउने प्रयत्नमा लागेका नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग चुनावमा साझेदारी गर्ने विषयमा छलफल गरेको चर्चा उतिखेरै चलेको थियो ।

सोही तयारीकै क्रममा पूर्व प्रशासक गणेश कार्कीको नेतृत्वमा निर्वाचन आयोगमा नेपाली काँग्रेस (विपी) दर्ता गरेर गतिविधिसमेत गरिएको थियो । तर, पार्टी विभाजन गर्ने विषयमा महामन्त्री गगन थापालगायतका नेताहरुले साथ नदिएपछि पछाडि हटेको कोइराला समूहले देशका केही निर्वाचन क्षेत्रमा नेकपा एमालेसँग अघोषित साझेदारी गरेको थियो । डडेलधुरा, मोरङ, चितवन लगायतका जिल्लामा नेकपा एमालेले कोइराला समूहलाई सघाएको थियो । त्यही अघोषित तालमेलको प्रभावका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचन क्षेत्र परिवर्तन गरी गोरखा सर्नुपरेको थियो । यही सहकार्यको मारमा परेका एक नेता थिए लालबाबु पण्डित ।

नेकपा एमालेसँगको कोइराला समूहको उक्त साझेदारी पछिल्लो समय कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका क्रममा फेरि दोहोरिन पुग्यो । गठबन्धनप्रति असहमत रहँदै आएका डा. शेखर कोइरालाको समूहले कोशीमा गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय अस्वीकार गरेर नेकपा एमालेको सहयोगमा छुट्टै दाबी प्रस्तुत ग¥यो । यसले गठबन्धन भत्काउन लामो समयदेखि प्रयत्नरत एमाले अध्यक्ष ओलीका लागि राम्रो अवसर पनि सिर्जना गरिदियो र एमालेको बलमा कोइराला समूहका नेता केदार कार्की शनिबार कोशी प्रदेशको मुख्यमन्त्री बने ।

पार्टी संस्थापनको निर्णय कार्यान्वयन नभएपछि संकटमा परेको नेपाली काँग्रेस र गठबन्धनले एमालेको सहयोगमा कार्की मुख्यमन्त्री नियुक्त भएलगतै कोइरालासँग छलफल गरी गठबन्धन कायमै राख्ने लिखित सहमति गरे । ठूलो दुःख गरेर गठबन्धनबाट एउटा समूहलाई बाहिर ल्याउने एमालेको प्रयत्न असफल भएको केही मिनेटमै नेकपा एमालेका स्थायी समिति सदस्य लालबाबु पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर संघीय र प्रादेशिक निर्वाचनमा नेकपा एमालेको सहयोगको प्रतिफल मिलेको भन्दै आक्रोश व्यक्त गरे ।

नेता पण्डितको आक्रोश एमाले नेतृत्वप्रति नै लक्षित थियो । उनको आक्रोशले गत निर्वाचनमा गठबन्धनविरुद्ध कोइराला समूहको एमालेसँग अघोषित तालमेल भएको र सोही साझेदारीका कारण आफूलाई चुनाव हराइएको स्पष्ट संकेत गरेको छ । डा. शेखर कोइरालासँग अघोषित तालमेल गरी आफूलाई चुनावमा हराएको र अहिले पनि त्यस्तै तालमेल गरेर मुख्यमन्त्री बनाए पनि गठबन्धनमा फर्किनबाट रोक्न नसकेकोप्रति स्टाटसमार्फत पण्डितले आक्रोश पोखेका हुन् ।

गएको निर्वाचनमा डा. शेखर समूहसँग एमाले शीर्ष तहबाटै अघोषित तालमेल भएको र त्यसले पार्टीलाई क्षति पु¥याएको पनि उनले बताए । ‘डा. शेखर कोइरालाले नेकपा एमालेकै सहयोगमा निर्वाचन जित्नुभएको हो,’ नेता पण्डितले भने ‘म एमालेको उम्मेदवार थिएँ, उहाँ काँग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई सघाउने एमाले थिए तर अहिले एमाले भन्न मिलेन वा रहेनन् नि हैन ? यस विषयमा यतिमात्र बुझ्नु न ।’

निर्वाचनमा अघोषित तालमेल गर्दा एकपटक क्षति व्यहोरिसकेपछि पनि फेरि सोही समूहसँग तालमेल गरेर कोइराला समूहकै व्यक्तिलाई एमालेले कोशी प्रदेशको मुख्यमन्त्री बनाएकोमा नेता पण्डित असन्तुष्ट देखिए । मुख्यमन्त्री बनाउन नपाउँदै डा. शेखर समूह गठबन्धनप्रति इमान्दार रहने र अझ बलियो बनाउने निर्णय गरेपछि सार्वजनिक गरिएको उनको स्टाटसमा भनिएको छ ‘संघीय र प्रादेशिक निर्वाचनमा नेकपा एमालेको सहयोगको प्रतिफल आजको कोशी प्रदेशको प्रतिफल’ । नेता पण्डितले मुख्यमन्त्री बनाउन एमालेले सहयोग गरे पनि प्रतिफल नआउने बताए । उनले भने ‘प्रतिफल आउँदैन भन्ने कुराको लक्षण त आजै देखिएन र ? त्यसको लक्षण देखिसकिएको छ । आफ्नो शक्ति पहिचान गरेर सम्पूर्ण शक्ति एकजुट भएर लागेको भए यतिबेला देशमा नेकपा एमालेको बहुमतको सरकार चलिरहेको हुन्थ्यो, त्यस्तो निर्णय र केही लोभलालचको प्रभावमा पर्दा पार्टीलाई क्षति भयो ।’

आइतबार, २८ असोज, २०८०, बिहानको १०:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर