विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने तयारी गरेका हुन्।
खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन् ।
नेकपा एमालेका ३८ र नेपाली कांग्रेसको डा शेखर कोइराला ८ जना सांसदहरू बिहान ८ः३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन् ।एमालेका सांसद ज्ञानेन्द्र सुवेदी भने केहीबेरमा पुग्ने बताइएको छ ।
सनाखतको काम सकिएपछि आजै मुख्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कार्यालयको तयारी छ। प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सांसदले कतापट्टिको आफ्नो सही आधिकारिक हो भनेर खुलाउनुपर्ने छ।
मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।
तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन्।