कोशीमा दिनभर के के भयो ?

गठबन्धनका शीर्ष नेताको सहमति, निर्णय र उल्लङ्घन

कार्कीले गरेको मुख्यमन्त्रीको दाबी बलियो

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा आज दुईवटा दाबी परेका छन् । दाबी पर्नुअघि संघीय राजधानी काठमाडौंमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । दिउँसो २ बजेतिर बैठकको निर्णय सार्वजनिक भयो, ‘कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अगाडि सार्ने ।’

यो निर्णय सार्वजनिक भएसँगै काँग्रेस नेता शेखर कोइराला पक्षीय कोशी प्रदेशका सांसदहरुको पूर्व तयारी पनि सार्वजनिक भयो । एमालेका ३९ सांसदसहित कोइराला पक्षका सांसद केदार कार्कीको नेतृत्वमा ९ सांसदले विद्रोह गर्ने ।
त्यही चर्चा भइरहँदा नेकपा एमाले कोशी प्रदेश संसदीय दलको कार्यालय विराटनगरमा केही मन्त्री तथा सांसदहरु भेला भए । त्यहाँ काँग्रेसका ८ सांसद लिएर आए केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने छलफल भयो । सभा चार बजेतिर प्रदेशसभा सचिवालय छिरेका काँग्रेसका सांसद गयानन्द मण्डललाई प्रदेशसभा सचिव गोपाल पराजुलीले एमालेलाई सहयोग गर्न आग्रह गरे । तर, मण्डल मोवाइल अफ गरेर हिंडे ।

साढे ४ बजेतिर मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल एमालेका सांसदहरुको हस्ताक्षर लिएर एमाले संसदीय दलको कार्यालयमा छिरे र प्रमुख सचेतक रेवती भण्डारीसँग गोप्य छलफलमा जुटे । काँग्रेसको ८ जनाको हस्ताक्षर आउने पक्का भइसकेको र एमालेका सबै सांसदको हस्ताक्षर तयारी अवस्थामा रहेपछि ५ बज्नु अगावै ३९ सांसदको हस्ताक्षर लिएर एमालेको टोली प्रदेश प्रमुखको कार्यालय पुग्यो ।

प्रदेश प्रमुखको कार्यालयमा गठबन्धन दल काँग्रेसका नेता उद्धब थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राई र जसपाकी सांसद निर्मला लिम्बू पुगिसकेका थिए । केही मिनेटको अन्तरमा एमालेको टोली पुगेको थियो । दुवैपक्ष ५ बज्नुभन्दा अगाडि प्रदेश प्रमुखको कार्यालय पुग्यो भने काँग्रेसबाट विद्रोहको तयारी गरेका सांसद केदार कार्कीसहितका ७ सांसदहरु पनि केही बेरमा प्रदेश प्रमुखको कार्यालयमा पुगे ।

प्रदेश प्रमुखसँग गोप्य रुपमा लामो छलफल गरेपछि गठबन्धन दलको तर्फबाट ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बोलाई बनाउने निवेदन प्रदेश प्रमुखलाई बुझाइयो । त्यसपछि केदार कार्कीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको पत्र एमालेसहित काँग्रेसका ८ सांसदको उपस्थितिमा गरियो ।

दाबी पेश गरेपछि आङ्बोले आफूहरु शुक्रबार दिनभर छलफलमा पुगेर सहमति गर्नसक्ने बताए भने कार्कीले भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी गरेको बताए । दलीय ह्वीप नलाग्ने भन्दै उनले आफूलाई पार्टीले कुनै कारबाही नगर्ने पनि बताए । मुख्यमन्त्रीमा दाबी गरेको दुवैजना संचारकर्मीसँग सन्तुलित रुपमा प्रस्तुत भए । यद्यपि केदार कार्कीले भने आफूभन्दा अगाडि मुख्यमन्त्रीको दाबी पेश गरेका आङ्बोले आफ्नोसहित ८ सांसदको हस्ताक्षर दुरुपयोग गरेको भन्दै बदरभागी भएको बताए । प्रदेश प्रमुख पर्शुराम खापुङले भने संविधान र प्रचलित कानूनको अधिनमा रही संविधानविद्, कानूनविदहरुसँग कुरा गरेर आवश्यक निर्णय लिने बताएका थिए ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि २६ गते (शुक्रबार) बेलुका ५ बजेसम्मका लागि समय तोकिएको छ । दुवैपक्षले ४७–४७ सांसदको हस्ताक्षर देखाएका छन् । जसमा ८ जना काँग्रेस सांसदको हस्ताक्षर दुवैतिर छ । कार्कीसमूहले काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गर्न वा उपस्थिति हेरेर आवश्यक निर्णय लिन प्रदेश प्रमुखलाई आग्रह गरेको छ । राजनीति सम्भावनाको खेल हो । आज रातभर र भोली बेलुका ५ बजेसम्म उलटफेर नभएको अवस्थामा कार्की नै मुख्यमन्त्री नियुक्त हुने सम्भावना धेरै छ । यद्यपि राजनीतिलाई आफ्नो अनुकूलतामा ल्याउन आङ्बोले दाबी फिर्ता लिएर अर्को उम्मेद्वारलाई अगाडि सार्ने चर्चा पनि जारी छ । उक्त खेल कामयावी हुन्छ या हुँदैन त्यो भने भोली दिनभरको गतिविधिले प्रष्ट पार्नेछ ।

बिहिबार, २५ असोज, २०८०, रातीको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर