विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ ।
चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको हो । मोरङ ट्राफिक प्रहरीले बुधबार एक कार्यक्रमको आयोजना गरी यात्रा सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको छ ।
चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको हो ।यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।
यात्रुको सहजताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक, मजदुरसँग सम्बन्धित संघ संगठन, बसपार्क व्यवस्थापन समितिलगायतका सरोकारवालासँग समन्वय गरिएको उनले बताए । उनकाअनुसार चाडपर्वका बेला यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।
साथै, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपु¥याउने, एकभन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने, गैरकानुनी व्यवहार गरेर यात्रुलाई मर्कामा पार्ने गरिएको छ । यात्रुमैत्री व्यवहार गर्न सबैलाई आह्वान गरिएको बताउँदै पौडेलले यात्रुलाई असुविधा पु¥याउने खालका हर्कत गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।
कार्यक्रममा मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले यात्राका क्रममा कुनै समस्या परेमा तत्काल ‘यात्रु सहायता कक्ष’मा र ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायलाई जानकारी गराउन पनि यात्रुहरुलाई आव्हान गरिएको बताए ।
यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर सवारीसाधन सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरिएको उनले बताए । यात्रुमैत्री व्यवहार नगर्ने र यात्रुलाई असुविधा पु¥याउनेलाई उन्मुक्ति नदिइने उनको प्रतिबद्धता छ ।

